© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
के तपाई घर, होटल बनाउँदै हुनुहुन्छ ? यस्तो डिजाइन गर्न नभुल्नुस है
नयाँ घर बनाउँदा डिजाइनमा विशेष ध्यान दिनुपर्छ । घरको इन्टेरियर डिजाइन हरेक मानिसको जीवनशैलीसँग सम्बन्धित हुन्छ । त्यसैले घर निर्माण गर्दा वास्तुविज्ञानअनुसार तालमेल मिल्नुपर्छ । अधिकांश इन्टेरियर डिजाइनरले वास्तुअनुसार नै घरको डिजाइन गरेका हुन्छन् । घरको कोठाभित्र सजाउने सामग्री कुन दिशामा राख्ने भन्ने पनि वास्तुसँग सम्बन्धित छ । त्यसकारण घरको स्थान, दिशा, आकार, रङ पनि मिलेको हुनुपर्छ, जसले गर्दा घरको आउटलुक्स पनि राम्रो देखिन्छ । साथै परिवारमा सकारात्मक ऊर्जा प्रवाह गर्छ । वास्तु होटल, बुटिक होटल, रिसोर्ट बनाउँदा होस या रेष्टुरेन्ट खोल्दा पनि ध्यान दिनुपर्छ ।
सलिजा श्रेष्ठ, इन्टेरियर डिजाइनर सलिजा डिजाइन्स
प्रवेशद्वार, घरको मुख्य द्वारबाट भित्र प्रवेश गर्दा सकारात्मक ऊर्जा पैदा हुनुपर्छ । घरको अगाडि र पछाडिको द्वार सीधा एउटै लाइनमा हुनुपर्छ, जसले घरको बनावट पनि राम्रो देखिन्छ । प्रवेशद्वार घडेरीको बनावटअनुसार पूर्व, उत्तर, पूर्व–उत्तर वा पश्चिम दिशामा हुँदा उत्तम हुन्छ । त्यसैले तपाईंले घर किन्दा वा बनाउँदा प्रवेशद्वारमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।
बैठक कोठा, घरको बैठक कोठामा मानिसहरू जमघट हुने ठाउँ हो । यो कोठा पूर्व वा उत्तर दिशामा हुनु वास्तुअनुसार पनि राम्रो मानिन्छ । दक्षिण फर्किएको घरमा भने उत्तर–पश्चिम वा त्यसको आसपासमा उपयुक्त हुन्छ । बैठक कोठामा सोफा वा फर्निचर दक्षिणतर्फ वा पश्चिमतर्फ राख्नुपर्छ । पूर्व र उत्तर दिशा सकेसम्म खुला भएको राम्रो मानिन्छ । जसले कोठालाई व्यवस्थित देखाउँछ । अर्को, कोठालाई प्रकाश जरुरी हुन्छ । घाम छिर्ने गरी बैठक कोठाको डिजाइन गर्दा उत्तम हुन्छ ।
भान्साकोठा, वास्तुअनुसार दक्षिण–पूर्वमा भान्साकोठा बनाउँदा राम्रो मानिन्छ । यसले घरको भित्री डिजाइनलाई व्यवस्थित देखाउँछ । दक्षिण–पश्चिममा भान्सा बनाउन सकिन्छ, तर त्यसले त्यति राम्रो देखाउँदैन । अर्को, भान्साकोठामा नेचुरल उज्यालो हुनुपर्छ । त्यसैले लाइटिङमा विशेष ध्यान दिनुपर्छ । डिजाइनमा ध्यान दियो भने सुन्दरता बढाउनुका साथै कोठालाई उज्यालो पनि बनाउँछ । झ्यालबाट प्राकृतिक प्रकाश कम आउने कोठा भएमा लाइटिङको जडानमा विशेष सजगता अपनाउनुपर्छ ।
बेडरुम, बेडरुम मानसिक वा शारीरिक रूपमा आराम दिलाउने हुनुपर्छ । त्यसैले बेडरुम भएको स्थानले पनि विशेष महत्व राख्छ । घरको दक्षिण–पश्चिममा र सुत्नेको शिर दक्षिणतर्फ हुनु राम्रो मानिन्छ । अर्को, घरको भित्री डिजाइन पनि आकर्षक देखिन्छ । प्रत्यक्ष घाम छिर्ने गरी बेडरुमको डिजाइन गर्दा राम्रो हुन्छ । नेचुरल लाइटले ऊर्जा प्रवाह गर्छ । कोठाका भित्तामा ढुसी पर्न कम गर्न पनि मद्दत गर्छ ।
पूजाकोठा, उत्तर–पूर्वको कुनामा पूजा कोठा उपयुक्त हुन्छ । वास्तुअनुसार पनि यो स्थानलाई राम्रो मानिन्छ । घरको डिजाइनलाई पनि यसले असर गर्दैन । वास्तुशास्त्रअनुसार पूर्व–उत्तर कुना शक्ति र ऊर्जाको स्रोत पनि मानिन्छ । त्यसैले पूजाकोठा उत्तर–पूर्वको बीच भागमा बनाउनु उचित हुन्छ । यसका अलावा उत्तर र पूर्व पनि राम्रो हुन्छ । यसले घरको भित्री डिजाइनलाई व्यवस्थित बनाउँछ ।
शौचालय, घरमा शौचालय बनाउँदा पश्चिम बायाँबाट हल्का हटेर दक्षिणतर्फ बनाउँदा राम्रो मानिन्छ । घरको शौचालयको धारा उत्तर, पश्चिम वा पूर्व झर्ने हुनुपर्छ । यसले घरलाई व्यवस्थित बनाउन सहयोग पुग्छ ।