ट्रेन्डिङ

होटल बिक्री गर्ने कुनै योजना छैन: एभरेष्ट होटल

२६ भाद्र २०८१, बिहीबार १२:०९

काठमाडौं। काठमाडौंस्थित नयाँ बानेश्वरमा रहेको पाँचतारे होटल एभरेष्टले बिक्रीको कुनै योजना नरहेको दाबी गरेको छ ।

पाँच तारे एभरेष्ट होटल बिक्रीमा रहेको भनेर समाचार आउन थालेपछि उसले विज्ञप्ति नै निकालेर त्यस्तो कुनै योजना नरहेको स्पष्टीकरण दिएको हो । 

‘केही दिनदेखि पाँच तारे एभरेष्ट होटेल यति मूल्यमा बिक्रीमा राखिएको भनी विभिन्न सञ्चार माध्यमहरूमा हल्ला फिँजाइएकोमा होटल व्यवस्थापनको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘होटल बिक्री गर्ने कुनै योजना छैन ।’

‘होटल बिक्रि गर्ने कुनै योजना छैन । झुठ्ठा, भ्रामक र कपोलकल्पित हल्लालाई विश्वास नगर्नु हुन सर्वसाधारणलाई अनुरोध गर्दछौं । यस्ता कुठा भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण नगर्न नगराउन सम्बन्धित सबैलाई अनुरोध गर्दछौं । नयाँ बानेश्वरमा विगत ४६ वर्षदेखि सञ्चालन हुँदै आएको ख्याती प्राप्त दि एभरेष्ट होटलको ख्याती र प्रतिष्ठामा आँच पुग्ने गरी निराधार, भ्रामक सामाग्री प्रकाशन तथा प्रशारण गर्ने सञ्चार संस्था माथी आवश्यक कारवाहीका गर्नको लागि सम्वन्धित निकायमा कानूनी प्रक्रिया अगाडि बढाइ सकिएको छ’, होटलले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

एभरेष्टले होटल बिक्री गर्ने कुनै योजना नभएको दाबी गरेको छ । नयाँ बानेश्वरमा विगत ४६ वर्षदेखि सञ्चालन हुँदै आएको दि एभरेष्ट होटलले ठूलो संख्यामा विदेशी तथा स्वदेशी पर्यटक/ग्राहकलाई गुणस्तरीय सेवा दिँदै आएको जनाएको छ ।

पर्यटकलाई प्रदान गरिने सेवासँगै भित्रिने अर्थतन्त्र, रोजगारी र नेपाल सरकारलाई बुझाइने राजस्वमा पनि होटलले योगदान गरेको विज्ञप्तिमा जनाइएको छ ।