ट्रेन्डिङ

सुस्ताएको होमस्टे पुनः सञ्चालन, बढ्यो पर्यटकको चहलपहल

१६ भाद्र २०८१, सोमबार १५:१३

काठमाडौँ। सात वर्षअघि बागलुङको काठेखोलामा सञ्चालनमा आएका घरबास (होमस्टे) कोरोना महामारीमा उचित व्यवस्थापन गर्न नसक्दा बन्द भएका थिए ।

जिल्लामा सञ्चलित शिवुधरी सामुदायिक घरबास, काठेखोला गाउँपालिका–७ स्थित बौर सामुदायिक घरबासलाई पुनःसञ्चालनमा ल्याइएको छ । नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको सक्रियतामा घरबास सञ्चालकलाई आवश्यक सीप र तालिम सिकाएर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुई पुराना र दुई नयाँ घरबास सञ्चालनमा ल्याइएको हो ।

कोरोना महामारी, पूर्वाधार अभाव, प्रचारप्रसार तथा तालिम प्राप्त जनशक्ति नहुँदा सुस्ताएका यहाँका घरबास पुनःसञ्चालनसँगै पर्यटन प्रवर्द्धन गर्न थालिएको छ । काठेखोला गाउँपालिकाभित्र स्थापना भइसकेर नियमित नभएका दुई र नयाँ दुई घरबास सञ्चालनसँगै पर्यटन प्रवर्द्धन गर्न थालिएको फाउण्डेसनका सचिव उमेश गौतमले जानकारी दिए ।

काठेखोला गाउँपालिकामा चार स्थानमा स्तरीय घरबास सञ्चालन गर्ने उद्देश्यले चार घरबासका अहिले ८० जनालाई खानाका विभिन्न परिकार बनाउने, सञ्चालनको तरिका तथा पहुनाको स्वागतदेखि बिदाइसम्मको प्रक्रिया सिकाइएको उनले बताए । उनका अनुसार तालिमपछि सञ्चालक पूर्वाधार निर्माणमा केन्द्रित भएका छन् ।

शिवधुरी र बौर सामुदायिक घरबासलाई पुनःसञ्चालनको तयारी भइरहेको छ भने धम्जा देउराली र खानीगाउँ सामुदायिक घरबासमा पूर्वाधार निर्माण भइरहेको गौतमले जानकारी दिए ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग, काठेखोला गाउँपालिकाको साझेदारी र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको व्यवस्थापनमा पर्या–पर्यटनमार्फत सीमान्तकृत युवा र महिलालाई रोजगारी सिर्जना गरी आयआर्जनसँग जोड्न घरबास सञ्चालनका लागि सहयोग पुर्याइएको फाउण्डेसनका सचिव गौतमले बताए ।

घरबासलाई आम्दानी र पर्यटनसँग जोड्ने उद्देश्यले तालिम दिइएको बताउँदै उनले सञ्चालकलाई घरबास व्यवस्थापन, स्थानीय पथप्रदर्शनसम्बन्धी जानकारी, आतिथ्यतालगायत विषयमा तालिम दिइएको उहाँले जानकारी दिए ।

“विसं २०७५ मा जिल्लामा घरबास सञ्चालनको लहड नै चल्यो, पछि धेरै घरबास उचित व्यवस्थापन हुन नसक्दा बन्द भए, कतिपयले घरबास र होटलबीच फरक छुट्याउन सकेनन्”, सचिव गौतमले भने, “अहिले काठेखोलामा स्तरीय घरबास सञ्चालनसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नियमित सञ्चालनको तयारी थालेका छौँ । स्थानीय महिला तथा युवालाई आयआर्जनमा सघाउँदै पर्यटनसम्बन्धी गतिविधि बढाउन, घरबासलाई दिगो बनाउने अभियानमा छौँ । उहाँहरुलाई पाक कला, पथप्रदर्शन र स्वागत, सत्कारको विषयमा जानकारी गराएको छौँ ।”