© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौं। सोल्टी होटलको प्रमुख संस्थापक कम्पनी सोल्टी इन्टरप्राइजेज र ग्लोबल एकेडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी एजुकेसन गेट कलेजबीच सम्झौता भएको छ।
कम्पनीबीच सहलगानीबाट शैक्षिक विकास तथा उत्कृष्ट मानव विकासको लागि निवेश प्रवाह गर्ने परिवर्तनकारी समझदारीमा मंगलबार हस्ताक्षर भएको हो।
सम्झौतापत्रमा सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईं र गेट कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत खेमराज लकाईले हस्ताक्षर गरे । सम्झौतामा साविक गेट कलेजलाई संयुक्त ब्रान्ड ‘गेट कलेज’ बाट संचालन गर्ने सहमति भएको सोल्टी इन्टरप्राइजेजले जानकारी दिएको छ ।
सोल्टी इन्टरप्राइजेज र गेट कलेजको यस कार्यले आतिथ्य तथा होटेल व्यावस्थापन शैक्षिक उत्कृष्टतामा नयाँ आयाम तथा मानक निर्धारण गर्ने अपेक्षा गरिएको छ । नेपालको होटल उद्योगमा तथा विश्व परिदृश्यमा समेत नेपाली दक्ष शैक्षिक जनशक्तिको आवश्यकता बढ्दै गएको अवस्थामा सोल्टी गेट कलेजको यो समिश्रणले स्वदेशका अलावा विदेशमा समेत दक्ष,कुशल तथा सक्षम मानव स्रोतको परिपूर्ति गर्नका लागि थप सहयोग पुग्ने विश्वास लिइएको छ।