पर्यटन खबर

‘करबाकेली इको ट्रेक’ जङ्गल सफारीका लागि आकर्षक

१८ फाल्गुन २०८०, शुक्रबार ०६:१४

म्याग्दी । अग्लो डाँडाबाट दन्तेहलरजस्तै देखिने मनमोहक हिमश्रृंखला र राताम्मे भएको ‘गुराँसे जङ्गल’ले समय गएको पत्तो दिँदैन।

डाँडामा बनेका धार्मिक धरोहरका थानहरूले मन शान्त पारिदिन्छ । धुरीबाट फन्को मारेर देखिने दृश्यले पर्यटकलाई लोभ्याइरहेको हुन्छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ करबाकेलीमा पुग्ने पर्यटकले यस्तै अनुभूति गर्न पाउँछन्।

पुन समुदायको कूलदेवता ‘करबाकेली बाबा’को अनुसन्धान गरेर विसं २०६६ देखि निर्माण सुरु भएको करबाकेली थान, पदमार्ग, पुन सङ्ग्राहलयलगायतका पूर्वाधार निर्माणले यो क्षेत्र अहिले धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ।

समुद्री सतहबाट दुई हजार तीन सय ३२ मिटर उचाइमा अवस्थित करबाकेली धवलागिरि र अन्नपूर्ण हिमश्रृंखलाका करिब एक दर्जन हिमाललाई नजिकबाट अवलोकन गर्ने उपयुक्त स्थल मानिन्छ। गुर्जा, धवलागिरि, मानापाथी, बराह शिखर, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल यहाँबाट लहरै अवलोकन गर्न सकिन्छ। वरिपरि गुराँसे जङ्गलले घेरिएको करबाकेली क्षेत्र यतिबेला सुन्दर देखिएको छ।

 थरिथरिका गुराँसका फूल फुल्न थालेपछि यस क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । असोजदेखि मङ्सिरसम्म धेरै पर्यटक आउने भए पनि फागुन–वैशाखको याम गुराँसे जङ्गल र हिमालसँग रमाउन पर्यटक आउने गरेको करबाकेली थान संरक्षण समितिका सचिव रवि गर्वुजाले बताए।

टोलीलाई बेनीमा म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवाल र प्रथम उपाध्यक्ष राजेश शाक्यले बिदाइ गरेका छन् । अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडास्थित करबाकेलीलाई केन्द्रित गरेर विसं २०७५ मा करबाकेली इको पदमार्ग सञ्चालन भएको थियो ।

कास्कीको वीरेढाँटी, तिखेढुङ्गा, उल्लेरी, घोडेपानी र करबाकेलीथान हुँदै बेनीलाई समेटेको यो पदमार्गमा चार दिनको यात्रा गर्न सकिन्छ । कला संस्कृति हेर्न र संसारकै ठूलो गुराँसे जङ्गलको यात्रा गर्न यो पदमार्ग उत्तम छ ।  करबाकेली पदमार्गको अधिकांश क्षेत्र अन्नपूर्ण पदमार्ग र बाँकी क्षेत्र अन्नपूर्ण–धवलागिरि सामुदायिक पदमार्गले समेट्ने भए पनि पुनहिलबाट परम्परागत मार्ग छाडेर करबाकेली थान हुँदै बेनी पुग्न सकिने गोठालो मार्गलाई विकसित गरिएको छ ।