पर्यटन खबर

मेरिल्यान्डमा नेपथ्यसँगै झुमे दर्शक

२२ भाद्र २०८१, आईतवार ०३:०३

काठमाडौं। आइतबार बेलुकी ‘दी हल एट लाइभ’को भुइँतला मात्र होइन, माथिल्ला कक्ष पनि दर्शकले भरिएका थिए । त्यो भीडमै रमाइरहेका माझ एक अमेरिकी थिइन्, फलेसिया डनल्याप ।

‘यस हलमा आजसम्मकै उत्कृष्टमध्येको शो अनुभव गरेँ,’ त्यस हलका मनोरञ्जन तथा प्रोडक्सन महाप्रबन्धक फलेसिया भनिरहेकी थिइन्, ‘प्रोडक्सन र पफर्मेन्सका हिसाबले चुस्त, गजबको प्रस्तुति!’

दर्शकमा उत्पन्न ऊर्जाकै आधारबाट पनि यसको विशिष्टता स्पष्टै झल्किएको उनको प्रतिक्रिया थियो। ‘म ड्युटीमै भए पनि दर्शकका रूपमा समेत रमाइरहेँ,’ कार्यक्रममा आफ्नो मोबाइलमा कैद गरेका भिडिओहरू देखाउँदै उनले भनिन्।

निर्धारित समयअनुसारै बेलुकी ठीक ८ बजे कार्यक्रम सुरू भएसँगै नीलो जिन्स पहिरेका अमृत गुरुङ देखापरे र दर्शकतर्फ झुकेर अभिवादन गरे। ड्रमसेटको ‘छ्याङ्ङ’ आवाजसँगै दुवै हात दर्शकतर्फ झट्कारे। यतिन्जेल हलमा भरिएका दर्शकमाझ व्यापक उत्साह र हलचल सुरू भइसकेको थियो।

पहिलो गीत सुनाए –

‘कोशीको पानी यो जिन्दगानी
सललल जाइजाने हौ हजुर
आमाको कोखमा बास मात्र लिएँ नि
कुन देशको मरन हौ हजुर’

त्यसपछि ब्यान्डका सार्वकालिक हिट गीतहरू ‘भेँडाको ऊन’ र ‘छेक्यो छेक्यो’ गाएपछि अमृतले दर्शकसँग छोटो भलाकुसारीको क्रम सुरु गरे । कार्यक्रममा नयाँ–पुराना गीतको लस्कर थियो । ती सबको बीचबीचमा अमृतले दर्शकसँग दोहोरो संवाद पनि जारी राखेका थिए ।