© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
नवलपुर। गिद्ध प्रजनन केन्द्र कसरामा हुर्काइएका १० गिद्ध जाटायु रेष्टुरेन्ट पिठौलीमा स्थानान्तरण गरिएको छ । चितवनको कसरामा संरक्षण गरी कोरलिएका सेतो रम्पेड जातको ती गिद्धलाई प्रकृतिमा घुलमिल गराउनका लागि जटायु रेस्टुरेन्ट पिठौलीको सफ्ट रिलिज एभियरीमा ल्याइएको हो ।
गिद्धका साथै चराहरूको अध्ययन एवं पर्यापर्यटनमा रुचि राख्नेका लागि यो स्थान पुग्नै पर्ने गन्तव्यका रूपमा विकास हुँदै गएको छ । लोपोन्मुख अवस्थामा पुगेको गिद्ध बचाउने अभियान अन्तर्गत नेपालमा नै पहिलोपटक समुदायद्वारा विश्वकै पहिलो ‘जटायु रेस्टुरेन्ट’ स्थापना गरिएको थियो।
लोपोन्मुख गिद्धलाई विषादीरहित भोजन उपलब्ध गराइ संरक्षण गर्ने उद्देश्यले समुदायस्तरबाटै सञ्चालन र व्यवस्थापन गरिएको यो रेस्टुरेन्ट चरापर्यटनका साथै पर्यापर्यटनको रुचि राख्नेका लागि पनि आकर्षक गन्तव्यका रूपमा विकास हुँदै ।
चौरलाई घेरेका अग्ला-अग्ला रुखमा विभिन्न प्रजातिका करिब १५० लोपोन्मुख गिद्धहरू आगन्तुकहरूको निगरानी गर्दै बसिरहेका छन् । उनीहरू कहिले एउटा हाँगो समाउछन् त काहिले अर्को रूखतिर हानिन्छन् । एकै छिनमा सबैको ध्यान भुँइतिर केन्द्रित हुन्छ । नहोस् पनि किन ? रेस्टुरेन्टमा खाना पस्किइएको छ । प्रकृतिका सर्वोत्तम कुचिकार मानिएका गिद्धहरूलाई आज मरेको गाई खुवाउने दिन हो ।
चौरबाट अलि पररहेको एउटा छाप्रोमा करिब आधा दर्जन पर्यटक, विश्वविद्यालयका विद्यार्थी र स्थानीय सोधकर्तहरू दूरविनको सहायताले गिद्धहरूलाई हेर्दैछन् । सन् २००८ देखि हुर्काइएका माउ एवं चल्ला गिद्ध कावासोतीस्थित नमूना मध्यवर्ती सामुदायिक वनमा खोलिएको जटायु रेष्टुरेन्ट नजिकबाट प्रकृतिमा (जङ्गलमा) छाड्नका लागि तयारी गरिएको छ ।
कसराको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका ५९ गिद्धलाई अहिलेसम्म जङ्गलमा छाडिसकिएको छ । जङ्गलमा छाडिएका गिद्धको गणना गर्न ढाड र खुटामा सेटलाइट ट्याग लगाएर छाडने गरिएको छ। “खुट्टामा नम्बर ट्याग र ढाडमा सेटलाइट ट्याग लगाइएको छ । यहाँबाट छाडिएका गिद्ध कहाँ र कुन अवस्थामा छन् दैनिक मनिटरिङ गरिन्छ ।”
अहिले ल्याइएको गिद्धलाई आगामी मार्च महिनामा जङ्गलमा छाड्ने तयारी गरिएको छ । जङ्गलमा छाड्नुभन्दा अगाडि तिनीहरूलाई प्रकृतिमा बाँच्न, आहारा खोज्न, मौसमअनुसार बस्न अभ्यस्त गराउने गरिएको छ ।
लोपोन्मुख गिद्धको संरक्षण गरेर सङ्ख्या बढाउन भन्दै विसं २०६३ भदौमा कावासोतीको पिठौलीस्थित सामुदायिक वनमा गिद्ध रेष्टुरेन्ट सुरु गरिएको हो । त्यो रेष्टुरेन्टमा बुढ्यौली लागेका चौपाया आहारा दिएर गिद्धलाई लोभ्याइन्छ । नेपालबाट सुरु गरिएको गिद्ध प्रजनन केन्द्र र जटायु रेष्टुरेन्ट प्रोजेक्ट संसारमै सफल मानिएको छ । नेपालमा अहिलेसम्म ५९ वटा गिद्ध प्रजनन केन्द्रमा हुर्काएर जङ्गलमा छाडिएको छ ।