पर्यटन खबर

रूखबिरुवा नभएको हरियाली भिरालो पाखोको सुन्दर दृश्य रुइसे

५ भाद्र २०८१, बिहीबार १०:५८

काठमाडाै । रूखबिरुवा नभएको हरियाली भिरालो पाखोको पृष्ठभूमिमा देखिने हिमशृङ्खला । पाखाको चरनमा रमाइरहेका गाईभैँसी, भेडाबाख्राका बथान ।

घाम, पानी र बादलको लुकामारी । कोलाहलमुक्त र एकान्त वातावरण । चराहरुको चिरबिर, चिरबिर आवाज । सिरसिरे बताससँगैको शीतलता ।  समुन्द्री सतहदेखि दुई हजार दुई सय आठ मिटर उचाइमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित रुइसेमा पुग्दा कुनै चित्रकारले मेहनतका साथ तयार पारेको क्याभासको जस्तो आभास हुन्छ ।

रुइसेको सौन्दर्यले समय बितेको पत्तै नहुने बेनीबाट त्यहाँ घुमेर आएका व्यवसायी कृष्णराज पौडेलले बताउनुभयो । “गर्मी छल्न, बजारको कोलाहल, व्यावहारिक र व्यावसायिक तनाबाट मुक्त हुनका लागि रुइसे उपयुक्त ठाउँ रहेछ,” हालै दुई दिन रुइसेमा बिताएका उहाँले भन्नुभयो, “रुइसेको प्राकृतिक सुन्दरता शब्दमा बयान गरिसाध्य छैन ।”

रुइसेको प्रचारप्रसार, पूर्वाधार र खानेबस्ने सुविधा भएसँगै रुइसेमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । रुइसे एक दशकअघिसम्म भगवतीका किसानहरुले गाईभैँसी र भेडाबाख्राको गोठ लैजाने थलोका रुपमा मात्र सीमित थियो ।

पछिल्लो समय भगवती, पिप्ले, गलेश्वर, बेनी, बागलुङ, कुश्मा, पोखराबाट पर्यटकहरु घुम्न आउन थालेका रुइसेकी होटल व्यवसायी कमला शाहीले बताउनुभयो । “दश वर्षअघिसम्म गोठ राख्ने खर्कमा सीमित रुइसे अहिले पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ,” उहाँले भन्नुभयो, “व्यवसायी, कर्मचारी, शिक्षक र जागिरेहरु बिदा मनाउन आउने रुइसेमा अन्य समयमा पनि पर्यटक आउँछन् ।”

धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल र सूर्योदयको दृश्य अवलोकन गर्न पाउनु रुइसेको प्रमुख आकर्षण हो । ऋतुअनुसार रुइसेको पाखामा फुल्ने फूल, वनजङ्गल, ग्रामीण बस्ती, पशुगोठ, जीवनशैली र पहाडी भूगोलको दृश्य अवलोकन गर्न पाइने रुइसे बस्तीदेखि टाढा भएकाले कोलाहलबाट मुक्त छ ।

रुइसेमा बास बस्ने पर्यटकहरु एक घण्टा उकालो हिँडेर भेडिओडारसम्म पुग्न सक्छन् । हिउँदमा भेडिओडारमा आउने भेडाबाख्राका गोठले परम्परागत जीवनशैलीको झल्को दिन्छ । चरन क्षेत्रका भेडाबाख्राको दृश्य लोभलाग्दो हुन्छ । भगवतीको ऐतिहासिक कोतघर र मल्लकालीन रुइसे दरबारका भग्नाअवशेषहरु पनि अवलोकन गर्न सकिन्छ । रुइसेको रेष्टुरेष्टमा च्याउ, टुसा, निउरो, दौडेको अचार, लोकल कुखुरा र खसीबोकाको मासु, कोदोको ढिँडोलगायत परिकारको स्वाद लिन पाइन्छ ।