© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौं । व्यावसायिक घराना शंकर ग्रुपले निर्माण गरिरहेको पाँचतारे होटल हिल्टन आगामी असारबाट सञ्चालनमा आउने भएको छ।
शंकरले जगदम्बा हस्पिटालिटी ग्रुप प्रालिमार्फत होटल हिल्टन निर्माण गरिरहेको छ। यो होटल अन्तर्राष्ट्रिय होटल चेन ‘हिल्टन’को व्यवस्थापनमा सञ्चालन हुनेछ। कुल १८ तल्लाको यो भवनमा ‘हिल्टन’को साइन राखिएको हो । हिल्टन अन्तर्राष्ट्रिय चेन होटल हो ।
‘फुल सर्भिस अपस्केल फाइभस्टार होटल’ हिल्टन पाँच तारेमा पनि उच्चस्तरमा पर्ने शंकर ग्रुपका कार्यकारी निर्देशक साहिल अग्रवालले बताए।होटलले आउँदो अगष्टका लागि बुकिङ सुरु गरिसकेको छ । आउँदो जुनमा औपचारिक उद्घाटन नै गर्ने तयारी गरिएको यो होटलको निर्माणसँग सम्वन्धित् काम सम्पन्न भई व्यवस्थापकीय कुराहरु मिलाउने काम भइरहेको छ ।
२०८१ असारदेखि होटल पूर्णक्षमतामा सञ्चालन हुने जगदम्बा हस्पिटालिटीले जनाएको छ। गत असारसम्म होटलको ९० प्रतिशत काम सकिएको हिल्टनले जनाएको छ। होटलमा अहिले डेकोरेसनलगायत अन्य काम भइरहेका छन्।
राजधानीको नक्सालमा निर्माणाधीन होटलमा १ सय ७४ कोठा छन्। २०१८ बाट निर्माण थालिए पनि कोरोना महामारीले निर्माण कार्य प्रभावित बनाएको थियोे। ‘दुई–अढाई बर्ष त कोभिड–१९ ले समय ढिलो भई लागत बढेको अग्रवालको भनाई छ ।
हाल होटलको लागत बढेर ६ अर्ब ८५ करोड ४० लाख रुपैयाँ पुगेको छ। यसअघि ६ अर्ब ६८ करोड ३० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो। कोरोना महामारीकै कारण होटलको लागत बढेर प्रतिकोठा ३ करोड ८० लाख रुपैयाँ पुगेको छ। निर्माण सुरु हुँदा २ करोड ८० लाख रुपैयाँ लाग्ने अनुमान थियो।
अहिले १७२ रुम पुगेको छ । छ वटा कार्यक्रम हल पनि छ । यसलाई सात वटा बनाउन मिल्छ । न्यू फेजमा अर्को ठूलो हल पनि बन्दै गरेको जनाइएको छ । होटलको व्यवस्थापन हिल्टन वर्ल्डवाइड म्यानेज लिमिटेड इङल्याण्डले गर्नेछ ।
हिल्टन वर्ल्डवाइड अमेरिकाको बहुर्राष्ट्रिय ब्राण्ड हो । यो कम्पनीले विश्वका १२३ भन्दा बढी देशहरुमा होटलको व्यवस्थापन गरिरहेको छ । कुल नौ रोपनी क्षेत्रफलमा रहेको होटल हिल्टन्मा पौडी पोखरी छतमा छ । यसबाहेक हेल्थ क्लब स्पा, वातावरण अनुकूल स्विमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधा हुनेछ ।