ट्रेन्डिङ

देशकै सबैभन्दा ठूलो मानवनिर्मित ‘भरत ताल’ पर्यटकीय गन्तव्य बन्दै

२७ फाल्गुन २०८०, आईतवार ०६:४२

सर्लाही। सर्लाहीको बागमती नगरपालिका–४ मा निर्माण भएको देशकै सबैभन्दा ठूलो मानव निर्मित भरत ताल मधेस प्रदेशकै प्रमुख पर्यटकीयस्थलको रूपमा दरिएको छ तालमा आन्तरिक एवम् बाह्य पर्यटकको चाप दिनानुदिन बढ्दो छ।

यस तालको वरपरको पर्यटकीय विकासको अध्ययन र अवलोकन भ्रमणका लागि देशका विभिन्न पालिकाका जनप्रतिनिधिहरू आउने क्रम पनि बढ्दो छ। कलकल बग्ने बागमती नदी र छेउमा बन्दै गरेको रेलको लिगले समेत हरेक पर्यटकको मन लोभ्याउने गर्दछ। हावाको वेगसँगै तालमा छल्किने पानीले पर्यटक रोमाञ्चित बन्ने गरेका छन्।

२ वर्षअघि तालमा बोटिङको मात्रै सुविधा रहेकोमा अहिले जिपलाइन, वाटरसाइकल, स्काइ साइकलिङ, उँट र घोडामा चढेर तालको वरपर अवलोकन गर्ने र वृद्धवृद्धाहरूका तथा बालबालिकाहरूलाई मिनी रेल, सर्वसाधारणहरूका लागि फोटो खिच्न र भिडियो बनाउन  क्यामरामेनको समेत व्यवस्था  गरिएको हो ।

वाग्मती नगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा चालु आर्थिक वर्षदेखि पर्यटकहरूका लागि एक दर्जनभन्दा धेरै सुविधाहरू थप गरेको छ । जसका कारण दैनिक हजारौँको सङ्ख्यामा ताल घुम्न आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड लाग्ने गरेको छ ।

भरत ताल घुम्न आएकी बारा जीतपुरसिमरा–२१ की सीता केसीले बोटसँगै तालमा स्काई साइकलिङ, वाटर बाइक, उँट, घोडा चढेर घुम्न सक्ने सुविधा थप भएपछि झनै रमाइलो भएको छ।  ‘पहिला पहिला आउँदा यहाँ बोट मात्रै थियो, अहिले धेरै विकास भएको रहेछ । यहाँ आउँदा विदेशमा घुमेको जस्तो लाग्यो । भरत ताल घुम्न आएका बर्दिबासका अवधेश कुमार यादवले पनि विगतको तुलनामा भरत तालमा धेरै सुविधा रहेका छन्।

‘२-३ वर्षदेखि लगातार आइरहेको छु । अहिले धेरै सुविधाहरू थपिएपछि झनै रमाइलो भएको छ,’ यादवले भने । वरपरको भू-भागसहित भरत ताल २२१ बिगाहा क्षेत्रफलमा फैलिएको  छ । नेपाली तथा अङ्ग्रेजी नयाँ वर्ष, शनिवार र अन्य सार्वजनिक बिदाको दिन यहाँ पर्यटकहरूको भिड लाग्ने बोटिङ सञ्चालक सुशीलकुमार वाइवाले जानकारी दिए ।

ताललाई व्यवस्थित गर्दै बगैंचा, पार्क र वनभोजस्थलका रूपमा पनि विकास गरिने योजना नगरपालिकाले प्राथमिकतामा राखेको छ। तालको वरिपरि बगैंचा तथा घेराबेराको काम सम्पन्न हुने क्रममा रहेको देखिन्छ। तालको वरिपरि खाजा घरहरू धमाधम निर्माण भइरहेका छन् पानीको कमी हुन नदिन बागमती नदीबाट पानी हाल्ने व्यवस्था मिलाइएको छ। पानीको निकासको प्रबन्ध पनि छ।

चुरेकै काखमा रहेको यस तालमा ३५ सिट क्षमता भएको जेटबोट सञ्चालनमा आएको छ भने अन्य साना बोट (मिनी क्रुज ) हरूमा पनि आन्तरिक एवम् बाह्य पर्यटकको भीड लागिरहेको पाइन्छ। तालको सुन्दर दृश्य, तालपारि देखिने चुरे पर्वत, तालमा पौडिँदै गरेका हाँस र तालमा सरर हिँडिरहेका मोटर बोटले पर्यटकको मन लोभ्याउने गरेको छ। तालमा फोटो खिच्ने, टिकटक बनाउने, बोटमा यात्रा गर्ने तथा ताललाई नजिकबाट नियाल्दै खाजा खाने, साथीभाइ भेट्ने तथा रमाइलो गर्ने पर्यटकको सङ्ख्या बढिरहेको देखिन्छ।