ट्रेन्डिङ

बुटवलमा २ अर्ब लगानीमा पाँचतारे होटल ‘सफ्रोन सीके’ खुल्दै

१९ फाल्गुन २०८०, शनिबार ०९:००

काठमाडौं। निजी लगानीमा लुम्बिनी प्रदेशको बुटवलमा पाँचतारे होटल ‘सफ्रोन सीके’ प्रालि निर्माण भइरहेको छ ।

होटल आगामी सन् २०२४ को अप्रिलमा सञ्चालनमा आउने भएको छ। यसअघि २०२३ को नोभेम्बरदेखि सञ्चालनमा ल्याउने लक्ष्य थियो। होटल एक वर्षपछि धकेलिएको छ। अहिलेसम्म होटलको ६५ प्रतिशत भौतिक र ६१ प्रतिशत वित्तीय प्रगति भएको सफ्रोनले जनाएको छ। अब होटलको ३५ प्रतिशत काम बाँकी छ।

उद्योगीहरू चुन्नु प्रसाद पौडेल, कमल किशोर मालपानी, नरिश्वर पौडेल, उमाशंकर पालमानी, भुमिराज पौडल र सर्वण बेरिवालको २ अर्बको संयुक्त लगानीमा होटल सफ्रोन सीके सञ्चालनमा आउँदैछ।

पाँच बर्ष अघि निर्माण थालिएको होटल पूर्ण रुपमा सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने प्रालिका अध्यक्ष चुन्नप्रसाद पौडेलले बताए। ०७९ सालमै होटल सञ्चालनमा ल्याउने गरी काम भएपनि विभिन्न कारणले होटल सम्पन्न नभएको उनले बताए।

यस होटलमा नविल बैंकको १ अर्ब बढी ॠण लगानी हुने पौडेलले बताए। ​​​​​​बैंकको ७० प्रतिशत र सञ्चालकहरूको ३० प्रतिशत लगानी रहने गरी होटल निर्माण शुरु भएको हो।

होटल बनाउन १ अर्ब ४५ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। जसमध्ये ९६ करोड ६० लाख रुपैयाँ ऋण र बाँकी ४९ करोड रुपैयाँ संस्थापकहरूको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना तयार पारिएको छ।बैंकको ६६ प्रतिशत ऋण र ३४ प्रतिशत संस्थापकहरूको स्वपुँजी लगानी हुने होटलले जनाएको छ।

५ हजार ७ सय ४६ वर्ग मिटरमा फैलिने होटलमा १०९ वटा कोठाहरू रहने छन्। त्यस्तै, क्यासिनो निर्माणको काम पनि भर्खरै थालिएको छ। क्यासिनो निर्माण स्थलमा हाइटेन्सन लाइन रहेका कारण एकवर्ष ढिला गरी क्यासिनोको काम सुरू भएको हो।

पाँचतारे स्तरको होटलमा रेष्टुरेन्ट, स्विमिङ पुल, सम्मेलन र ब्याङकेट हल, स्पा र अन्य सुविधाहरू रहेका छन।  निर्माण अवधि होटलहरूको लामो गेस्टेसन अवधि हो।