© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौं। पर्यटकीय याम सुरु भएसँगै राजधानी काठमाडौँको मुख्य पर्यटकीय केन्द्र ठमेलमा पर्यटकको चहलपहल सुरु भएको छ ।
पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त याम वसन्त ऋतु सुरु भएसँगै ठमेलका गल्ली, चोक तथा पसलमा बाह्य पर्यटकको चहलपहल देखिन थालेको हो । नेपालमा मार्च, अप्रिल र मे महिनालाई पर्यटकीय यामका रुपमा लिने गरिन्छ ।
बसन्त ऋतुको सुरुआतसँगै अनुपम प्राकृतिक विविधताले भरिपूर्ण नेपालको सौन्दर्यको अवलोकनका लागि विश्वका विभिन्न मुलुकबाट पर्यटक आउँछन्।
सन् २०२० मा विश्वका विभिन्न मुलुकसहित नेपालमा सुरू भएको कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रले यो याममा थोरै भए पनि गति लिने अपेक्षा व्यवसायीले गरेका छन् ।
ठमेलको चाक्सीबारीमा अन्तर्राष्ट्रियस्तरको आयुर्वेद चिकित्सामार्फत पर्यटकलाई उपचार गर्दै आएका स्पा संघ नेपालका सचिव एवं जेन स्पाका सञ्चालक रामदेव महतो पछिल्लो समय नेपालको पर्यटन क्षेत्रले सकारात्मक मोड लिएको बताउँछन्।
‘अन्य समयमा दैनिक पाँच/सात जना स्पाका लागि आउनुहुन्थ्यो, पछिल्लो केही दिनदेखि २० देखि २५ जनासम्म आउने गर्नुभएको छ, यो नेपाली पर्यटन व्यवसायीको लागि खुसीको कुरा हो,’ उनले भने।
ठमेलमा डेढ दशकदेखि ह्याण्डिक्राप्टको व्यवसाय गर्दै आएकी नेपाल ह्याण्डिक्राप्ट कलेक्सनकी सञ्चालक मीनाकुमारी बाँस्तोला पर्यटकीय याम शुरू भएसँगै उलन, पश्मिना, फेल्टलगायतका सामग्रीको व्यापार बढ्ने विश्वास व्यक्त गरिन् । ‘कोरोना अगाडिजस्तो व्यापार छैन, पर्यटकको चहलपहलले आशा भने जागेको छ, सायद गत वर्षभन्दा यस वर्ष व्यापार पक्कै राम्रो हुन्छ,’ उनी भन्छिन् ।
ठमेलमा दरबार हेरिटेज होटल सञ्चालन गर्दै आएका दिनेश ढकाल फ्रेबुअरीदेखि होटलमा पर्यटकको सङ्ख्या बढेको बताउँछिन् । ‘फेबु्रअरीमा हाम्रो होटलमा समग्रमा भन्दा ७० प्रतिशत हाराहारीमा होटलका कोठा भरिएका थिए, मार्चमा पनि ८० प्रतिशत भरिने आश हामीले लिएका छौँ,’ ढकाल भन्छन् ।
ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष विमल धमला पछिल्लो समय ठमेलमा बाह्य पर्यटकको चहलपहल बढेको बताउँछन् । ‘पर्यटकीय याम शुरू भएर पनि होला, ठमेलमा यतिबेला पर्यटकको चहलपहल बाक्लोरूपमा देख्न सकिन्छ,’ उनी भन्छन् । ठमेल पर्यटन विकास परिषद्का अनुसार ठमेलभित्र दुई हजारभन्दा बढी व्यवसायी आबद्ध छन् ।
ठमेलमा पर्यटकको चहलपहल भए पनि ढल र बिजुलीका तार बिच्छाउन सडक खन्दा पर्यटकलाई हिँडडुल गर्न समस्या भएको छ । ठमेल काठमाडौँ महानगरपालिका–१६, १७, २६ र २७ वडामा पर्छ । ठमेलको अधिकाशं क्षेत्र भने २६ नं वडामा पर्छ ।