© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौँ। नेपाली हस्पिटालिटीको ब्राण्डिङ गर्ने लक्ष्यसहित ७ वर्षअघि स्थापना भएको होटल पौवाले नेपालगन्जमा फाइभ स्टार होटल निर्माण थालेको छ । होटल पौवा प्रालिका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले शाखाको शिलान्यास गरेका हुन् ।
कोशी र मधेश प्रदेशबाहेक सबै प्रदेशमा सेवा संचालन गरेको पौवा होटलले पर्यटनको पश्चिम ढोकाकारुपमा रहेको नेपालगन्जमा १३ औं शाखा विस्तारको थालनी गरेको जनाएको छ।
सुबिधा सम्पन्न ५ तारे होटल निर्माणको बिहीबार पूजापाठसहित शिलान्यास गरिएको होटल पौवा प्रालिका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । नेपालगन्जमा संचालन हुने होटल निर्माणको काम २ वर्षमा सम्पन्न गरी ग्राहकलाई सेवा दिइने संचालकहरुको भनाइ छ ।
एक अर्ब रुपैयाँको लगानीमा उक्त शाखा निर्माण हुनेछ । देशका ५ वटा प्रदेशमा आफ्ना शाखा विस्तार गरिसकेको पौवाका धेरै शाखा लुम्बिनी प्रदेशमा छन् । दुई वर्षमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने ज्ञवालीले बताए । शाखामा ठुलो सभा हलसहित १४ वटा मिटिङ हल, ७ वटा स्वीट रुमसहित ८० वटा डिलक्स रुप उपलब्ध हुनेछन् ।
नेपालगन्जको पर्यटन उद्योगलाई मध्यनजर गर्दै ५ तारे सुविधासहित होटल सञ्चालनको सुरुवात गरेको होटल पौवा प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए ।
उनले यसै आर्थिक वर्षमा थप २ वटा शाखा थप गर्ने लक्ष्य राखिएको जनाउँदै कोशी प्रदेशमा होटल संचालनको अध्ययन गरिरहेका तथा मधेश प्रदेशको जनकपुरमा सम्भाब्यतासहित होटल संचालनको प्रारम्भिक तयारी गरिएको बताए।