© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
विराटनगर । विराटनगर महानगरपालिका भित्रका होटल व्यवसाय सञ्चालनका लागि राति १२ बजेसम्मको समय तोकिएको छ ।
मोरङ जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख समेत रहेका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले रातको १२ बजेसम्म मेन रोडको बजार तथा पसल खोल्न दिने गरी कार्यविधि निर्माण गरिने बताएका हुन् । ‘कार्यविधि निर्माण गरेर केही दिनमै रातीसम्म बजार पसल खोल्ने वातावरण बनाउने तयारी गरेका छौँ,’ भट्टराईले भने ।
आर्थिक गतिविधि चलायमान बनाउनका लागि होटल ब्यवसायलाई ब्यवस्थित ढंगबाट सञ्चालन गर्न दिने निर्णय भएको महानगरका मेयर नागेश कोइरालाले बताए। बैठकपछि मेयर कोइरालाले भने, विराटनगरको आर्थिक गतिविधिलाई बलियो बनाउन होटल ब्यवसाय राती १२ बजेसम्म र अन्य व्यवसाय १० बजेसम्म चल्न पाउनेछन्। यसबारे ब्यवसायीहरुले पटक पटक हामीलाई ध्यानाकर्षण गराउँदै आउनु भएको थियो। अब उहाँहरुले ब्यवस्थित ढंगबाट ब्यवसायलाई अघि बढाउनुपर्नेछ।’
व्यवसायीको गुनासो सम्बोधन गर्न महानगरले समन्वय गरेर प्रमुख जिल्ला अधिकारीको रोहबरमा बुधबार प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, होटल व्यवसायी संघ, उपभोक्तासँग सम्बन्धित संस्थासहित सरोकारवालाको बैठक बसेको थियो ।
जिल्ला सुरक्षा समितिले होटल र अन्य व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षालगायतका मापदण्ड समेटेर कार्यविधि बनाउनेछ ।व्यवसायीको पीडा बुझेर महानगरले सरोकारवालाको बैठक राखी रात्रिकालीन व्यवसाय सञ्चालनको निर्णय गरिएको मेयर कोइरालाले बताए ।