होटल खबर

होटल र सैलुन सञ्चालन गर्दै लैङ्गिक अल्पसङ्ख्यक

१४ फाल्गुन २०८०, सोमबार ११:५८

झापा । आर्थिक आत्मनिर्भरताका लागि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले स्वरोजगारमूलक व्यवसाय सुरु गरेका छन् ।

कोशीका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा उनीहरुले होटल, फास्टफुड कर्नर र सैलुन सेन्टर सञ्चालनमा ल्याइरहेका लिड नेपालकी संयोजक लुना लिम्बू (चञ्चला)ले बताए । लिड नेपाल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हकअधिकारका क्षेत्रमा काम गर्ने संस्था भएकाले उनीहरुलाई स्वरोजगार बनाउने अभियानमा लागेको उनको भनाइ छ ।

झापाको दमकमा नमुना युनिसेक्स (महिला र पुरुष दुवैका लागि सैलुनको सुविधा भएको) सैलुन एन्ड ट्रेनिङ एकाडेमी सञ्चालन भइरहेको छ । “सैलुनबाट १८ जना लैङ्गिक अल्पसङ्ख्यक साथीले तालिम लिइसक्नुभएको छ”, उनले भनिन्, “यो सैलुन समुदायका साथीले सञ्चालन गरेका हुन् । तालिम लिन समुदाय बाहिरका पनि आउनुहुन्छ ।” उनका अनुसार सैलुनमा पाँच जना प्रशिक्षकले नियमित तालिम दिइरहेका छन् ।

मोरङको विराटनगरमा मिलीजुली एण्ड सप्तरङ्गी खाजाघर र सुनसरीको इटहरीमा रेम्बो फास्टफुड कर्नर सञ्चालनमा ल्याइएको छ । पूर्वका थुप्रै सहर बजारमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले पसललगायत स्वरोजगारमूलक व्यवसाय सञ्चालन गरिरहेका छन् ।

झापामा पहिचान लुकाएकासमेत गरी २२ हजार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय रहेको लिड नेपालको दाबी छ । उनीहरुलाई आत्मनिर्भर बनाउन सीप सिकाउने र रोजगारी सिर्जना गर्ने संस्थाको उद्देश्य रहेको लिम्बूले बताइन् ।

लिड नेपालले स्थानीय पालिका र दातृ संस्थासँग मिलेर उनीहरुलाई व्यावसायिक सीप सिकाउने अभियान सञ्चालन गरिरहेको छ । दमक–५ स्थित बेलडाँगी रोडमा सैलुन सञ्चालन गर्न दमक नगरपालिकाले आर्थिक सहयोग समेत गरेको छ ।