© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले ‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष-२०२४ को घोषणा गरेकी छिन् ।
यहि फागुन १८ गते उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएका छन्। नारायणी नदी किनारमा हुने उद्घाटन समारोहमा ५० हजारभन्दा बढी स्थानीयको सहभागिता हुने महानगरले अनुमान गरेको छ ।
यसका लागि महानगरपालिकाले भ्रमण वर्षको एप, ब्रुसर, स्टिकर,बुकलेट, भिडियो सामाग्री, विभिन्न स्थानमा म्याप बोर्ड राख्ने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तित्व, संघ, संस्था, व्यवसायीलाई निम्तो बाँड्ने काम समेत गरिसकेको छ । भरतपुर भ्रमण वर्षका लागि निर्माण भएका पर्यटकीय पूर्वाधारले भरतपुरवासीलाई प्रत्यक्ष, अप्रत्यक्ष लाभ पुग्ने प्रमुख दाहालको भनाइ थियो ।
भरतपुर महानगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउँदै छ । नारायणगढ–गोन्द्राङ छ लेन सडकलगायत केही पूर्वाधार निर्माणमा ढिलाइ हुँदा उद्घाटन पछि सारेर मार्च १ अर्थात् फागुन १८ गते गर्न लागिएको हो । नारायणी नदी किनारमा भव्य समारोहकाबीच भ्रमण वर्षको उद्घाटन गरिँदैछ ।
महानगर प्रमुख रेनु दाहालका अनुसार उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्रीहरु, दलका प्रमुखहरु, सङ्घीयमन्त्री, प्रदेशका प्रमुख एवं मुख्यमन्त्री, प्रदेशका मन्त्री, जिल्लाबाट प्रतिनिधित्व गर्ने सङ्घीय एवं प्रदेशका सांसदलगायतलाई निमन्त्रणा गरिएको छ । उनका अनुसार उद्घाटन समारोहपूर्व सबै वडाबाट झाँकीसहितको ¥याली नारायणगढ नजिक नारायणी नदी किनार आइपुग्नेछ ।
विभिन्न जातजाति एवं सङ्घसंस्थाले झाँकी प्रदर्शन गर्ने दाहालले बताइन्। उनले भनिन्, ‘भ्रमण वर्ष उद्घाटनमा ५० हजारभन्दा बढीको सहभागिता हुने अनुमान गरेका छौँ । महानगरका सबै वडासहित जिल्लाका अन्य पालिका र छिमेकी जिल्लाबाट समेत उद्घाटन समारोहमा सहभागिता हुनेछ।’