ट्रेन्डिङ

रारामा हिउँ खेल्न आउने आन्तरिक पर्यटकको चहलपहल

११ फाल्गुन २०८०, शुक्रबार ०१:५६

मुगु। सोमबार रातिदेखि रारामा हिउँ पर्न सुरू भएको छ। पर्यटकीय गन्तव्यका रूपमा प्रसिद्ध मुगुको रारा तालको किनार यतिबेला हिउँले सेताम्मे भएको छ।

लामो समयपछि फागुनको  पहिलो सातातिर भएको हिमपातपछि मौसममा सुधार आए लगतै रारामा हिउँ खेल्ने र रमाउने आन्तरिक पर्यटकहरूको सङ्ख्या बढेको हो ।

रारा घुम्न पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरू हिउँमा रमाइरहेका छन्। प्राय: पुसदेखि फागुनको दोस्रो सातासम्म पर्ने हिउँ खेल्न मानिसहरू सदरमुकाम गमगढी बजार, मुर्मा, तुम, झ्यारी, टोप्ला, पिना, सोरूलगायत ठाउँबाट जाने गरेका छन्।

छिमेकी जिल्ला जुम्लाबाट पनि आन्तरिक पर्यटक दैनिक ५०/६० जना आउने गरेका छन् । हिउँ परेको दिन हिउँ खेल्न रारा आउने गरेका छन् । यस वर्ष जाडो कम भएर होला रारा घुम्ने र हिउँ खेल्नको लागी आन्तरिक पर्यटकहरूको बाक्लो उपस्थिति हुने गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले बताए ।

बिचमा आकाश झैँ निलो वरिपरि हिउँले सेताम्मे जैविक विविधताले यतिबेला उत्कृष्ट देखिने  रारामा फोटो खिच्ने र हिउँ खेल्नेको लर्को लाग्ने गर्दछ।