पर्यटन खबर

राइनासकोटको लालीगुराँसबाट पर्यटकहरू आकर्षित

८ फाल्गुन २०८०, मंगलवार ०३:३०

लमजुङ। मनास्लुदेखि अन्नपूर्ण हिमशृंखलासम्म। वरिपरि ससाना थुम्का। फेदीमा पूर्वबाट पश्चिम–दक्षिण बगेकी चेपे र लमतन्न परेको मस्र्याङ्दी। चित्ताकर्षक उपत्यका, सुन फल्ने समथर फाँट राइनासकोटका सौन्दर्य हुन्।

राइनासकोटमा आन्तरिक पर्यटकलाई लालीगुराँसले आकर्षित गर्न थालिएको हो। गाउँमाथि ऐतिहासिक गढी। लालीगुराँस,  एउटै रङ र शैलीमा बनाइएका चिटिक्कका घरले जो कोहीको मन लोभ्याउँछ।

फुलेका लालीगुराँसले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको राइनास नगरपालिका प्रमुख एवं राइनासकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर गुरुङले बताए। माघको पहिलो सातादेखि लालीगुराँस फुल्न थालेको भन्दै अहिले यहाँ सञ्चालित घरवासका साथै घुम्न आउने पर्यटकलाई लोभ्याइरहेको उनको भनाइ थियो।
“यहाँ रहेका सांस्कृतिक, ऐतिहासिकस्थल, संस्कृति र यहाँबाट देखिने विभिन्न हिमशृङ्खलाले पर्यटकलाई आकर्षित गर्ने गरेपनि यतिबेला लालीगुराँस पर्यटकका लागि थप आकर्षणको केन्द्र बनिरहेको छ”, गुरुङले भने। चैत–वैशाखमा फुल्ने लालीगुराँस समय अगावै फुलेपछि हेर्नका लागि पर्यटक आउने गरेका उनको भनाइ थियो। उनका अनुसार यहाँ आइपुगेका अधिकांशले लालीगुराँससँग फोटो खिच्ने र भिडियो बनाएर रमाउने गर्दछन्।