© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
विराटनगर । मोरङको उर्लाबारीमा आइतबार बिहान एक जना किशोरी अर्धचेत अवस्थामा भेटिएकी छन्। मिक्लाजुङ घर भएकी १७ वर्षीया किशोरी उर्लाबारी नगरपालिका–४ आइतबारेमा अचेत अवस्थामा फेला परेकी हुन्।
मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जन दाहालका अनुसार स्थानीय भट्टराईको गाईगोठमा आइतबार बिहान किशोरीलाई अर्धचेत अवस्थामा भेटिएको हो।
प्रहरीले किशोरीको उद्धारसँगै अघि बढाएको अनुसन्धानबाट प्रार्थना रिट्रिट रिसोर्टका सञ्चालक ४१ वर्षीय रविन गुरुङलाई पक्राउ गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार किशोरीलाई गुरुङले फकाएर उर्लाबारी ४ को कात्तियानी होटलमा लगेर राखेका थिए।
उनका अनुसार सोधपुछका क्रममा किशोरीले पनि आफू बलात्कृत भएको बताएकी छन्। आरोपी गुरुङले ललाइफकाइ प्रलोभनमा पारेर किशोरीलाई उर्लाबारी–४ स्थित कात्तियानी हेरिटेज होटलमा पुर्याएको दाहालले बताए। ‘कोठा लिएर होटलमा राखेपछि जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्यो,’ उनले भने, ‘अचेत भएर केही पनि थाहा नपाउने अवस्थामा पुगेपछि नजिकैको गाईगोठमा लगेर छाडेको पत्ता लाग्यो।’
प्रहरीको उद्धारपछि विराटनगरस्थित कोसी अस्पतालमा किशोरीको स्वास्थ्य परीक्षण गरिएको थियो। शरीरको बाहिरी भागमा चोटपटक नदेखिएको र उपचारपछि किशोरीका अवस्था विस्तारै सामान्य हुँदै गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हालसम्म घटनामा एक जनाको मात्र संलग्नता देखिएको छ।