© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौँ । झण्डै तीन दशकदेखि विवादमा रहेको बौद्धस्थित तारागाउँ हायात रिजेन्सी होटल र तारागाउँ विकास समितिबीचको आर्थिक विवाद छानबिनमा तानिएको छ ।
होटल हायात रेजेन्सीले गरेको भूमि अतिक्रमण तथा तारागाउँ विकास समितिले हडपेको भूमिको विरुद्ध बुधबार हायात गेट अगाडि प्रदर्शन गरिएको छ। लामो समयदेखि जारी आन्दोलनलाई उनीहरूले यस पटक भने योङ इन्डिजिनिष्ट लिग मार्फत अगाडि बढाएका छन्।
होटल हायातले हडपेको १५० रोपनी जग्गाको साथै तारागाउँ विकास समितिले पनि विसं २०२६ साल देखी १४९ रोपनी जग्गा कब्जा गरेको बताइएको छ। तर उक्त मुआब्जा पनि आफूहरुले नपाएको आक्रोश व्यक्त गरेका छन्।
आदिवासी पुर्खाहरुको सम्मानमा मौनधारणबाट सुरु भएको कार्यक्रममा भूमि अतिक्रमणविरुद्ध लामो समय देखी लड्दै आएका दुङह्युल तामाङ छोग्छेनका चोहो तुलाराम तामाङ, ताम्सालिङ संयुक्त संघर्ष समितिका बाबुराम लोप्चन लगाएतले मन्तव्य व्यक्त गरेका थिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सीमित छानबिन तथा अध्ययन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पुगेको छ ।
३० वर्षअघि समितिले होटल सञ्चालनका लागि हायातको नाममा १५० रोपनी जग्गाबराबर १७ करोड लगानी गरेको थियो । त्यतिबेलाको मूल्याङ्कनअनुसार हायात होटलमा समितिको करिब ३९ प्रतिशत शेयर थियो । त्यसबाहेक समितिको नाममा रहेको बौद्धकै १४८ रोपनी जग्गा ४९ वर्षका लागि लिजमा दिएको थियो । त्यसका लागि २२ असोज २०४९ मा तारागाउँ विकास समिति, आईसीटीसी (सुरेशलाल श्रेष्ठ र दिनेशलाल श्रेष्ठ), अरुण सर्राफबीच संयुक्त लगानीमा चेन होटल सञ्चालन गर्ने सम्झौता भएको थियो।
त्यही सम्झौताका आधारमा विसं २०५० बाट कम्पनी स्थापना भई २०५८ बाट हायात रिजेन्सी होटल सञ्चालनमा आएको हो । सुरुमा जारी पुँजी १ अर्ब हुने भनिएलगत्तै १ अर्ब ५० करोड पुर्याइएको थियो । त्यही बिन्दुबाट सरकारी सम्पत्ति र शेयर घट्न थालेको थियो ।