© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौँ। लेते नेपालको मुस्ताङ जिल्लामा अवस्थित एक पर्यटकीय गन्तव्य हो। लेते सुन्दर हिमालहरू धवलागिरी, अन्नपूर्ण र नीलगिरि हिमालहरू ले घेरिएको पर्यटकीय गन्तव्य हो।
म्याग्दीको सिमानामा रहेको घाँसा काटेपछि पुगिने लेते अधिकांश पर्यटकको रोजाइमा पर्न थालेको छ । सम्भव हुनेहरू लेतेमा एकरात बास बसेर वरपरका गन्तव्य घुम्छन् । बास बस्न सम्भव नहुनेहरूले खाना–खाजा–चिया पिउन एक–डेढ घण्टा भुलेर गन्तव्यतर्फ लाग्ने गर्छन ।
‘धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको काखमा रहेको लेते–कालोपानीको बस्तीको बीचमा बेनी–जोमसोम–कोरला सडक कालोपत्र भएपछि सुन्दर देखिएको छ । लेतेबाहेक मुस्ताङको अन्य ठाउँबाट अन्नपूर्ण प्रथम हिमाल नदेखिने भएकाले पनि यहाँ विदेशी पर्यटक आउँछन् ।’
कालीगण्डकी नदीको किनारमा रहेको यो बस्ती समुद्री सतहबाट दुई हजार पाँच सय ३० मिटरको उचाइमा छ । बस्तीको वरपर सल्ला, धुपी र गुराँसको जङ्गल छ ।
बर्खामा हरियाली छाउने वनपाखा वसन्त ऋतुमा गुराँस फुलेर रङ्गिन्छ । पृष्ठभूमिको पहाड हिजोआज हिउँले छोपिएको छ । कालोपत्र सडकको पृष्ठभूमिमा हिमाल, जङ्गल र पहाडी भूगोलको दृश्यावलोकन, तस्बिर, भिडियो खिच्नेहरूको चहलपहल बढ्न थालेको छ।
‘हिमालसँगै जैविक, वातावरणीय विविधता र थकाली संस्कृति लेतेको आकर्षण हो’, उनले भने, ‘लेतेको सौन्दर्यले मुस्ताङ आएका पर्यटकलाई भुलाएको छ ।’ लेतेमा करिब २० वटा सुविधासम्पन्न होटल र लज छन् । व्यवसायीहरूका अनुसार यहाँ एक रातमा एक हजार जनासम्म बास बस्न सक्छन् ।