होटल खबर

होटल संघले सीताराम दर्शन तथा पर्यटन प्रवद्र्धन कार्यक्रम गर्ने

२ फाल्गुन २०८०, बुधबार ०२:१०

काठमाडौं। होटल संघ नेपालले आउँदो मार्च ३ देखि ६ सम्म सीताराम दर्शन तथा पर्यटन प्रवद्र्धन कार्यक्रम गर्ने भएको छ ।

भारतीय पर्यटकको आगमन बढाउन तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि संघले तीनसम्म प्रवर्द्धनको कार्यक्रम गर्न लागेको हो। भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा पश्चात विश्वको ध्यान त्यसतर्फ आकृष्ट भएको र यसबाट नेपालको खासगरी जनकपुर लगायत नेपालका अन्य हिन्दू पीठहरूको समेत अयोध्यासँग सानिध्यता कायम गरी वृहत प्रवर्द्धन र प्रचारप्रसार गरी बढीभन्दा बढी भारतीय पर्यटक नेपाल भित्र्याउने उद्देश्यले यो कार्यक्रम गर्न लागेको संघले जनाएको छ।

भारतीय टुर अपरेटर तथा विशिष्ट व्यक्तित्वहरुका लागि विशेष आकर्षण स्वरुप नेपालका धार्मिक महत्वका पशुपतिनाथ, मुक्तिनाथ, डोलेश्वर महादेव, हलेसी महादेव लगायत मन्दिर र पिठहरुबाट  संकलित पवित्र जल प्रसादको अभिषेकले स्वागत गर्ने, रुद्राक्षको मालासहितको  अभिनन्दन र पशुपतिनाथको चन्दन तथा जनकपुरको प्रसाद वितरण गर्ने कार्यक्रम रहेको छ ।

नेपालको प्रचारप्रसार र पर्यटन प्रवद्र्धन कार्यका लागि परम्परा अनुसार माइती पक्षबाट भेटघाटका लागि ज्वाइँ छोरीको घर गई विभिन्न किसिमका उपहार तथा सौगात प्रदान गर्ने प्रचलन छ ।

सोही अनुरुप माइती पक्ष सीताको जन्मस्थल जनकपुरबाट अयोध्यासम्म लावालस्करसहित नेपालकोतर्फबाट होटल तथा पर्यटन व्यवसायीसहितको समूहले राम मन्दिरमा पूजा अर्चना गरी सीताको जन्मभूमी जनकपुर र अयोध्याको सदियौंदेखि रहि आएको धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध झनै प्रगाढ भई धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने पनि होटल संघ नेपालले जनाएको छ ।

आगामी पर्यटकीय सिजनमा भारतीय पर्यटकहरूलाई विभिन्न धार्मिक पीठहरू र पर्यटकीय गन्तव्यहरूमा आकर्षित गर्ने उद्देश्यले सीमावर्ती भारतीय सहरहरू लगायत त्यस क्षेत्रका अन्य प्रतिष्ठित टुर अपरेटरहरूसँग लखनउमा बिटुबी तथा नेपाल प्रवर्द्धनका कार्यक्रम हुनेछन्।

साथै नेपाल प्रवर्द्धनमा साँझ भारतीय पर्यटक आकर्षित गर्ने प्याकेजसहितको कार्यक्रम पश्चात नेपाली रैथाने परिकार सहितको रात्रीभोज गरिनेछ।