रेस्टुरेन्ट खबर

तोकिएभन्दा बढी शुल्क लिने होटललाई जरिवाना

१ फाल्गुन २०८०, मंगलवार १०:०१

धादिङ। स्थानीय प्रशासनले तोकिएभन्दा बढी शुल्क लिने १ होटललाई १ लाख रुपैयाँ जरिवाना गरेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छि गाउँपालिका मा सञ्चालित १ होटललाई स्थानीय प्रशासनले १ लाख रुपैयाँ जरिवाना गरेको हो ।

पृथ्वी राजमार्ग छेउमा सञ्चालन हुँदै आएको एक रेष्टुरेन्टलाई स्थानीय प्रशासनले रु. एक लाख जरिवाना गरेको छ । २० रुपियाँ मुल्य पर्ने दुईवटा वाइवाइ चाउचाउ पकाएर पाँच सय लिएपछि धादिङको गल्छि गाउँपालिका वडा नम्वर –७ मासटारमा रहेको ह्याम्लेट रेष्टुरेन्टलाई जिल्ला अनुगमन समितिले जरिवाना गरेको हो ।

पृथ्वी राजमार्ग आसपासमा सञ्चालित होटलहरुले महंगो मूल्य असुल्ने गरेको भन्ने जनगुनासो आउन थालेपछि पछिल्लो समय राजमार्गमा सञ्चालन हुँदै आएका होटल, किराना पसल र क्याफेलाई विशेष निगरानीमा राखी अनुगमन सुरु गरेको अनुगमन समितिका संयोजक एवं धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताए ।

ह्याम्लेट रेष्टुरेन्टलाइ भने उपभोक्ताबाट गुनासो आएपछि चाउचाउ पकाएर खाएको पैसा तिरेको बिलसहित जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी परेपछि अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कार्वाही गरेको पराजुलिले बताए ।