ट्रेन्डिङ

नेपालमा पहिलोपटक रेन्बो पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन हुने

२७ माघ २०८०, शनिबार १५:०८

काठमाडौं । ‘मायाको पहिचान नेपाल’ले नेपाल पर्यटन बोर्डको सहयोगमा ‘रेन्बो पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन’ गर्ने घोषणा गरेको छ ।

विश्वभरका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि नेपाल सुरक्षित र समावेशी (रेन्बो) पर्यटकीय गन्तव्य रहेको सन्देश दिन आगामी अप्रिल २० र २१ मा सम्मेलन हुन लागेको मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले जानकारी दिए ।

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं पहिलो संविधानसभाका सदस्य सुनिलबाबु पन्तका अनुसार सम्मेलनमा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी, होटल व्यवसायी, अन्तर्राष्ट्रिय दातृ निकाय, सञ्चारकर्मी तथा सेलिब्रेटीलाई आमन्त्रण गरिनेछ।

रेन्बो पर्यटनका सांस्कृतिक राजदूत समेत रहेका उनले नेपालले यो पर्यटनलाई प्रवर्द्धन गर्दा नेपालको संस्कृति, रहनसहन, भेषभुषा, चाडपर्व, खानपान लगायतका मौलिक कुराहरूलाई संरक्षण गरी यो पर्यटनलाई बढवा गरिने बताए । उनले विश्वमा वर्षको करिब पाँच सय बिलियन डलर भन्दा बढी रेन्बो टुरिजम व्यवसाय हुने गरेकोमा यसबाट नेपालले फाइदा लिनुपर्ने बताए ।

पर्यटन बोर्डका निमित्त कार्यकारी निर्देशक नन्दिनी लाहे थापाले रेन्बो पर्यटन महत्त्वपूर्ण सेगमेन्ट भएको र नेपालले यो पर्यटनलाई सक्दो सहयोग गर्नुपर्ने बताइन । नेपाल पर्यटन बोर्डले यो सम्मेलन सफल पार्न तथा रेन्बो पर्यटनलाई नेपाल भित्राउनका लागि सक्दो सहयोग गर्ने बताइन् ।

नेपालमा आयोजना हुन लागेको सम्मेलनमा पर्यटन व्यवसायीहरू, होटेल व्यवसायीहरू, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय तथा सरोकारवालाको सहभागिता हुनेछ । सम्मेलनको प्रचारप्रसारका यौनिक तथा लैंगिक अल्पसख्यंक समुदायका अधिकारकर्मी तथा ब्लगर लेक्स लिम्बूलाई घोषणा गरिएको छ ।