© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
पर्वत। सदरमुकाम कुश्माबजारमा नेपालकै पहिलो ‘स्काई क्याफे’ सञ्चालनमा आएको छ । कालीगण्डकी नदीमाथि ‘द क्लिफ’ कम्पनीले स्थापना गरेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प पुलमा नेपालमै पहिलोपटक ‘स्काई क्याफे’ सञ्चालनमा ल्याएको हो ।
‘द क्लिफ’का सञ्चालक राजु कार्कीका अनुसार ‘स्काई साइक्लिङ’का लागि राखिने तार जस्तै गरेर कालीगण्डकी नदी किनारमा रहेको अग्लो भीरमा तार टाँगिएको छ।
‘क्याफे’ मा बस्नका लागि फलाममा काठका फलेक जडान गरेर बेन्च र टेबल निर्माण गरिएको छ। त्यही टेबललाई घिर्नीको माध्यमबाट तारमा झुन्ड्याइएको छ, घिर्नीकै माध्यमबाट डरलाग्दो तारे भीरका माथि तारमा ‘क्याफे’ बिस्तारै हिँडिरहेको हुन्छ।
त्यहाँ बसिरहेका ग्राहकले यात्रा सुरु गर्ने वेला ‘अर्डर’ गरेका खानेकुरा खाँदै खुला आकाशमा यात्रा गर्न पाउँछन्। ‘बन्जी सहितका अन्य साहसिक खेलका लागि पर्वतको द क्लिफ पर्यायवाची भइसकेको छ। हामी सकेसम्मका फरक तर एडभेन्चर खालका खेल तथा पूर्वाधारको निर्माणमा जुटिरहेका छौँ।
स्काई क्याफे पनि यही अवधारणामा तयार भएको हो’, कार्की भन्छन्, ‘तारमा झुन्डिएर हिँडिरहेको क्याफेमा बसेर खाजा खानुको मजा बेग्लै छ। कालीगण्डकी नदीको सातो जाने भीरमा गुडिरहेको क्याफेको आनन्द लिन आउने पर्यटकहरूको चाप बढी हुन्छ भन्ने लागेको छ।’
अहिले सुरूआती चरण भएको र प्रचार नगरिएकै अवस्थामा समेत दैनिक औसतमा ५० जनाले ‘स्काई क्याफे’ मा बसेर जुस र कफी लिने गरेको उनको भनाइ छ।
क्याफेका लागि मात्रै झण्डै ९५ लाख रुपैयाँ लगानी गरेको बताउँदै उनले प्रतिव्यक्ति दुई हजार ५०० रुपैयाँ शुल्क राखिएको जानकारी दिए। सञ्चालक जोशीका अनुसार कालीगण्डकी नदीमाथि १२० मिटरको लम्बाइका तार राखेर क्याफे सञ्चालन गरिएको छ।