होटल खबर

नयाँ बसपार्कभित्र होटल सञ्चालन

२६ माघ २०८०, शुक्रबार ०९:१४

काठमाडौँ। काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कभित्र लोत्से बहुउद्देश्यीय प्रा.लिले होटल सञ्चालनमा ल्याएको छ ।

शुक्रबार उद्घाटन गरेपछि होटल सञ्चालनमा आएको हो । लोत्से बहुउद्देश्यीय  प्रा. लिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले यातायात व्यवसायीसँगको सल्लाहमा लामो दूरीबाट आएका चालक, सहचालक र यात्रुको खान तथा बस्नका लागि बिचल्ली नहोस् भन्ने उद्देश्यले होटल सञ्चालनमा ल्याएको जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा २०५६ मा महानगरपालिकाले ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत लोत्से बहुउदेश्यीय प्रालिसँग सम्झौता गरेर सञ्चालनको जिम्मेवारी दिएको हो ।

बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायातमार्फत आवतजावत गर्दै आएका छन् । पश्चिमको हुम्लाबाहेक सबै जिल्लामा बस आवतजावत गर्दै आएका छन् भने पूर्वमा सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत जिल्लामा सवारीसाधन जाँदैनन् ।