© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
धनकुटा। राष्ट्रिय गौरवको आयोजना तमोर करिडोर निर्माणको काम द्रूत गतिमा भइरहेको छ।
करिडोरअन्तर्गत चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलासम्म हाल ट्र्याक खोल्ने काम भइरहेको छ।उक्त करिडोर कालोपत्र हुने भएपछि अहिले यस क्षेत्रमा धमाधम होटल सञ्चालनमा आउन थालेका छन् ।
सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटर तमोर करिडोर आयोजनाअन्तर्गत धनकुटाको मूलघाटबाट पाँचथरसम्मको एक सय १२ किमी सडक गत वर्षदेखि कालोपत्र हुने चरणमा छ ।
भारतको जोगवनीबाट पूर्वी नेपाललाई चीनको ओलाङ्चुङसँग जोड्ने यस करिडोर भएर दैनिक पूर्वी तराईलाई र पहाडका जिल्ला आवतजावत गर्न साना–ठूला सवारी साधन चल्ने गरेका छन् ।
चीनको रिउ बजारसँग करिडोर जोडिने छ। टिप्ताला नाकादेखि ओलाङचुङगोला हुँदै गैरी पाटीसम्म ३५ किलोमिटर लामो ट्र्याक दुई वर्ष अघि नै खोल्ने काम भइसकेको छ।
पच्चीस वर्षअघि शिक्षा र अवसरका लागि धनकुटा सदरमुकाम आएका चौबिसे गाउँपालिका–३ का केशर लिम्बू अहिले आफ्नै ठाउँमा होटल गर्न फर्किएका छु । उनले चौबिसे–४ फलामेटारमा यही महिनादेखि त्रिवेणी होटल सञ्चालन गरेका छन् ।
दश वर्षका लागि जमिन र घरभाडामा लिएर रु २५ लाखको लागतमा होटल र लज सेवा सुरु गरेको लिम्बूले जानकारी दिए । हाल कच्ची सडक भएको अवस्थामा करिडोरबाट दुई सयभन्दा बढी साना–ठूला सवारी साधन आवतजावत गरिरहेका छन् । “हाल यस क्षेत्रमा दिन प्रतिदिन होटल थपिने क्रम बढेको छ”, उनले भने ।
यस्तै करिडोरको व्यापारिक सम्भावनालाई देखेर सोही स्थानमा जोरपाटी गाउँपालिका–४ का हरि ओझाले घरभाडामा लिएर रु सात लाख लागतमा होटल सञ्चालन गरिरहेका छन् । उनले दैनिक रु १५ हजारदेखि रु ३० हजारसम्म व्यापार गरिरहेका छन् । करिडोर कालोपत्र हुने भएपछि अहिले उक्त क्षेत्रमा होटलको सङ्ख्यामा वृद्धि भइरहेको उनले जानकारी दिए ।
चौबिसे–४ सदमटारकी ४३ वर्षीया सुस्मिता लिम्बू ९राउत०ले पनि होटल सञ्चालन गर्नका लागि रु २० लाख खर्चेर पक्की घर बनाएका छन् । कृषि पेसामा आबद्ध उनले सडक कालोपत्र भएपछि सानोतिनो होटल व्यवसाय सञ्चालन गर्ने मनस्थिति बनाए ।