होटल खबर

सिद्धार्थ हस्पिटालिटी ग्रुपले मनायो वार्षिकोत्सव

२५ माघ २०८०, बिहीबार ०३:५३

काठमाडौँ। भैरहवामा यसै वर्ष पाँचतारे होटल ’सिद्धार्थ भिलाषा’, विभिन्न स्तरीय होटल तथा क्याफे सञ्चालन गर्दै आएको सिद्धार्थ हस्पिटालिटीको यात्रा २६ वर्षमा प्रवेश गरेको छ ।

पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यो ग्रुपले आफ्नै लगानीका होटलको सञ्चालन तथा विभिन्न कम्पनीले निर्माण र व्यवस्थापन गरि करिब ३ दर्जन आउटलेट सञ्चालन गर्दै आएको छ ।

२६ वर्ष अगाडि टिकापुरबाट सुरु भएको यस ग्रुपले २ हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी दिँदै आएको छ ।मंगलबार काठमाडौंमा आयोजित वार्षिकोत्सव समारोहमा विभिन्न विधामा उत्कृष्ट आउटलेट र कर्मचारीहरूलाई अवार्डसमेत वितरण गरिएको हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्ण न्यौपानेले जानकारी दिए।

वार्षिकोत्सवको अवसरमा हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपानेले हाल देशमा देखिएको राजनैतिक र सामाजिक अस्थिरताको कारण विगतदेखि आर्थिक मन्दीको असर पर्दा पनि सिद्धार्थ ग्रुप अन्तर्गतका कम्पनीले मुनाफा आर्जन गर्नु निकै उपलब्धीमूलक रहेको बताए । उनले भने, ‘यो गुणस्तरयुक्त आर्थिक रुपमा सक्षम र व्यवस्थित हस्पिटालिटी कम्पनीलाई अगाडि बढाइरहेका छौं भन्ने उदाहरण पनि हो ।’

सिद्धार्थ हस्पिटालिटीले वार्षिकोत्सवलाई लक्षित गरी १ हप्तासम्म विभिन्न आउटलेटमा खाना तथा बसाइमा १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको घोषणा गरेको छ ।