अन्तर्राष्ट्रिय होटल खबर

फ्यानले मेस्सीलाई भेट्न होटल छिर्न खोज्दा भयो लफडा

२२ माघ २०८०, सोमबार १३:१५

एजेन्सी। हङकङमा आइतबार राति मेस्सी बसेको होटलको लबीमा एकछिन लफडा भयो। लफडाको कारण थियो- मेस्सीका एक फ्यान जबरजस्ती होटलमा छिर्न खोज्नु।

अर्जेन्टिनाका फुटबल सुपरस्टारलाई भेट्न भन्दै ती व्यक्ति होटलमा छिर्न खोजेका थिए। हङकङमा आइतबार मेस्सी अनुबन्धित क्लब इन्टर मियामी र हङकङ इलेभेनबीच खेल भएको थियो।

उक्त प्रतिस्पर्धामा मियामीले इलेभेनलाई ४-१ ले पराजित गर्‍यो। तर, उक्त खेलमा लियोनल मेस्सी र अर्का फुटबल स्टार लुइस सुआरेज मैदान बाहिरै रहे। फुटबल स्टारहरूलाई पूरै खेल अवधिभर बेन्चमा सीमित गरिएको भन्दै दर्शकहरूले नाराबाजी समेत गरेका थिए।

दबाब खेप्न नसकेपछि मियामीका प्रशिक्षकले खेल सकिएपछि पत्रकार सम्मेलनमा माफी नै मागेका थिए। फुटबल स्टारको स्वास्थ्यका कारण खेलमा समावेश गर्न नसकिएको उनको स्पष्टीकरण दिएका थिए।

मेस्सी बसेको होटलमा अनधिकृत व्यक्ति छिर्न खोजेको प्रहरीले पनि स्वीकार गरेको छ। अनधिकृत व्यक्ति होटलभित्र प्रवेश गर्न खोजेको भन्दै रिपोर्ट प्राप्त भएको प्रहरीले जनाएको हो।

यस सम्बन्धमा सोधिएको प्रश्नमा एक प्रहरी प्रवक्ताले दिएको जवाफ भन्दै द स्ट्यान्डर्डले लेखेको छ, ‘हिजो राति १०:४५ बजे प्रहरीलाई एक व्यक्ति एबरडीनमा अवस्थित ३ ओसन ड्राइभ होटलको प्रतिबन्धित क्षेत्रमा अनुमतिविना प्रवेश गर्न खोजेको भन्दै रिपोर्ट आएको थियो।’

प्रतिवेदनमा एक व्यक्तिले बिना अनुमति हङकङको द फुलरटन ओशन पार्क होटल हङकङको परिसरमा प्रवेश गर्ने प्रयास 
गरेको उल्लेख छ । प्रहरीले घटनालाई "विवाद" को रूपमा वर्गीकृत गरेको छ र हाल यस विषयमा अनुसन्धान गरिरहेको छ।
हालसम्म कुनै पनि पक्राउ परेका छैनन् ।