© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
मुस्ताङ । उपल्लो मुस्ताङ जाने प्रवेशद्धार नजिक आईतबार पर्यटक लक्षित सूचना बोर्ड राखिएको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको उपल्लो मुस्ताङ जाने प्रवेशद्वारनजिक आइतबार पर्यटक लक्षित सूचना बोर्ड राखिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र तथा निषेधित तथा नियन्त्रित क्षेत्र उपल्लो मुस्ताङ जाने पहुँचमार्ग सडकमा आन्तरिक तथा बाह्य पर्यटकले पालना गर्नुपर्ने नियम उल्लेख गरिएको सूचना बोर्ड राखिएको हो।
राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ईलाका संरक्षण कार्यालय मुस्ताङ र जिल्ला प्रहरी कार्यालय मुस्ताङको संयुक्त आयोजनामा वारागुङ मुक्तिक्षेत्र—३ छुसाङ स्थित ईलाका प्रहरी कार्यालय छुसाङमा पर्यटक सूचना बोर्ड स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।
उपल्लो मुस्ताङको लोमान्थाङ लगायतका निषेधित तथा नियन्त्रित क्षेत्र तथा उपल्लो मुस्ताङको संरक्षण क्षेत्रमा भ्रमणमा जाने पर्यटकहरुलाई लक्षित गरी पर्यटक सूचना बोर्ड स्थापना गरिएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।
भारतीका नेपाली भाषी पर्यटकले आफू नेपाली पर्यटक भन्दै जाने गरेको पाइएकाले उपल्लो मुस्ताङको प्रवेशद्वार छुसाङमा पर्यटक सूचना बोर्ड राख्नु परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङको भनाइ छ। उपल्लो मुस्ताङ जाने पर्यटकले नेपाल सरकार अध्यागमन विभागबाट १० दिनका लागि पाँच सय डलर रोयल्टी तिरेपछि मात्र प्रवेश अनुमति पाउने नियम छ। अवैध रूपमा उपल्लो मुस्ताङ जाने विदेश पर्यटकलाई प्रहरीबाट पक्राउ गरिन्छ।
यसअघि गत मंसिरमा म्याग्दी र मुस्ताङको प्रवेशद्वार घाँसामा पर्यटक सूचना बोर्ड स्थापना गरिएको थियो। अन्नपूर्ण संरक्षणअन्तर्गत मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई आवश्यक सूचना दिएर यात्रालाई सहज बनाउन सूचना बोर्ड राखिएको हो। संरक्षण क्षेत्र भ्रमण गर्ने पर्यटकले प्रवेश शुल्क नतिरी आउँदा दोब्बर जरिबाना तिर्नुपर्ने अवस्था रहेकाले सोको जानकारी दिन सूचना बोर्ड प्रभावकारी हुने विश्वास गरिएको छ।