ट्रेन्डिङ

ढोरपाटनमा पर्यटकको भिड, अब गोठमा बस्नु पर्दैन

१७ माघ २०८०, बुधबार ०७:०१

बागलुङ। पर्यटकीय गन्तव्यसँगै धार्मिक रूपमा पनि परिचित ढोरपाटनमा उत्तरगंगाको ढोरबराह मन्दिर, उत्तरगंगा, रुद्रताल, छेन्टुङ गुम्बालगायत मठमन्दिर रहेका छन्। जनैपूर्णिमा, शिवरात्रिलगायत विभिन्न पर्वमा यहाँ तीर्थालुको भिड लाग्छ।

‘आरक्षमा आएपछि पर्यटकहरू पहिला संग्रहालय आउने गर्छन। बिदाको फुर्सदमा देशका विभिन्न जिल्लाबाट दैनिक करिब तीन सय आन्तरिक पर्यटक ढोरपाटन भ्रमणमा आउने गर्छन । यहाँ आउने पर्यटकको पहिलो रोजाइ संग्रहालय रहेको हुन्छ।

एक दशक अगाडिसम्म नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पुग्न निकै कठिन थियो । अप्ठ्यारा र साँघुरा गोरेटो, त्यसमाथि सयौँको सङ्ख्यामा ओहोरदोहोर गर्ने पशुचौपायाको हुल । जसोतासो ढोरपाटन उपत्यकामा पुगे पनि कहाँ बस्ने, के खाने र कसरी रात बिताउने भन्ने चिन्ता हुन्थ्यो ।

जनैपूर्णिमाका अवसरमा मात्रै तीर्थयात्रु ढोरबराह मन्दिरमा पूजाअर्चना जाने गर्थे भने अन्य सिजनमा फाट्टफुट्टमात्रै मानिस घुम्न जान्थे । ढोरपाटन पुग्नेहरू गाईभैँसी बाँध्ने गोठमा स्याउला र उनिउँ बिछ्याएर बस्ने गर्थे । खाना खाने र सुत्ने होटलको सुविधा थिएन । अहिले बाह्रै महिना पर्यटक ढोरपाटन पुग्न थालेका छन् । पहिलेको जस्तो हिँडेर ढोरपाटन पुग्नुपर्ने अवस्था छैन । अहिले कच्ची भए पनि सडक पुगेको छ । सामान्य भए पनि होटल तथा होमस्टे (घरबास) ठाउँ–ठाउँमा छन् ।

सडक र होटल सञ्चालनमा आएपछि अहिले ढोरपाटन पुग्ने पर्यटकसमेत बढेका छन् । यहाँ दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएपछि ढोरपाटन उपत्यकाको पाखाथर, स्यालपाखे, नवी, ढोरबराह मन्दिर आसपासमा करिब तीन दर्जनको हाराहारीमा होटल तथा घरबास सञ्चालनमा आएका छन् । होटल सञ्चालनमा आएपछि बाहिरबाट आउने पाहुनाले समस्या भोग्नुपरेको छैन ।

काठैकाठले बनेका घर रहेको यस क्षेत्रमा पछिल्लो समय माटो, ढुङ्गाको साथै कङ्क्रिटका घर बन्न थालेका छन् । स्थानीयसँगै बाहिरबाट समेत ढोरपाटनमा पुगेर घर बनाउने र होटल सञ्चालन गर्नेहरू पनि धेरै छन् ।

संग्रहालय बिदाको दिन तथा बिहान र साँझमा पनि खुला रहन्छ। संग्रहालयमा आरक्ष क्षेत्रमा पाइने वन्यजन्तुबारे जानकारीसहित विभिन्न जनावर र पशुपन्छीको छालासमेत राखिएको छ । ढोरपाटन छिर्नका निम्ति नेपाली पर्यटकलाई सय रुपैयाँ, सार्क राष्ट्रका विदेशी पर्यटकलाई एक हजार पाँच सय र अन्य राष्ट्रका विदेशी पर्यटकलाई तीन हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ।