ट्रेन्डिङ

मानुङकोटलाई नमूना पर्यटकीय गन्तव्य बनाउने: मन्त्री आचार्य

१६ माघ २०८०, मंगलवार ०९:४१

दमौली। मानुङकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले बताएका छन् ।

तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको सातौँ व्यास नगर अल्ट्रा म्याराथनको व्यास नगरपालिका- ५ मानुङकोटमा उद्घाटन गर्दै मन्त्री आचार्यले मानुङ पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको र यसले देशको पर्यटन क्षेत्रमा योगदान दिने उल्लेख गरे ।

उनले भने,’पछिल्लो समय मानुङकोट देश तथा विदेशमा प्रख्यात भइरहेको छ । यसले तनहुँको मात्रै समृद्धिमा टेवा दिँदैन देशकै समृद्धिमा योगदान दिन्छ ।’ मानुङकोेटमा पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले सङ्घ सरकारको समेत यसमा समर्थन रहने बताए ।

म्याराथनमा एक सय १६ धावकको सहभागिता रहेको छ ।  प्रतियोगितामा तनहुँका अतिरिक्त कास्की, लमजुङ, गोरखा, धादिङ, चितवन, डोल्पा, रुकुम, काठमाडौंलगायत जिल्लाबाट धावकको सहभागिता रहेको छ । व्यास नगरपालिका- ५ मानुङबाट सुरु म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलौचे-चापाघाट-अनसन चौतारी-सफासडक-भोर्लेटार चोक-बैरेनी-दुम्सी-कलेस्ती-पाथ्रा-सत्रसय-बानियाँ डिही-बर्लाची-सोतीवेशी-बगुवा रिस्ती-बाहुन पोखरा हुँदै व्यास नगरपालिका-८ पुलिमराङमा पुगेर सकिनेछ ।