© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
म्याग्दी। नेपालकै प्रसिद्ध पर्यटकीयस्थल राउन्ड अन्नपूर्णमा पद यात्रा गर्ने पर्यटक र विभिन्न अस्पतालहरुमा उपचार गराएर रोग निको नभएका दीर्घरोगीहरुका लागि आजभोलि म्याग्दी जिल्लाका तातोपानी कुण्डहरु मनोरञ्जन र प्राकृतिक उपचारका आकर्षक स्थल बन्दै गएका छन् ।
पश्चिम म्याग्दीको सिङ्गा तातोपानी, उत्तरी म्याग्दीको भुरुङ तातोपानी, दर्मिजाको तातोपानी कुण्डलगायत जिल्लाका १४ ठाउँमा रहेका तातोपानी कुण्डहरुमा बाह्य र आन्तरिक पर्यटकको भीड बढ्दै गएपछि कुण्डहरुलाई व्यवस्थित बनाइएको छ ।
यहाँको तातोपानी कुण्डमा डुबेपछि बिरामी निको हुन्छन् । यहाँको तातोपानी कुण्डमा डुबेर निको हुने भएपछि प्राकृतिक चिकित्सालयका रुपमा विकास तथा प्रवद्र्धन भइरहेको छ ।
यस कुण्डको तातोपानीमा विरेनुनको सुगन्ध र पिउन सकिने चिकित्सकले प्रमाणित गरेको छ । चिकित्सकबाट नै प्रमाणित गरी यस तातोपानी कुण्डमा प्राकृतिक उपचारका लागि आउने सेवाग्राही बढ्दै गएका छन् । प्राकृतिक चिकित्सालयका रुपमा ख्याति कमाउँदै आएको यस तातोपानी कुण्डको पानीमा नुहाउँदा वा डुब्दा रोग निको हुने गरेको छ ।
त्यसैगरी उत्तरी म्याग्दीको भुरुङ तातोपानी स्वास्थ्य पर्यटन र मनोरञ्जनको हब बनेको छ । मनाङ जिल्लाको थोराङ क्रस गरेर मुक्तिनाथ, जोमसोम हुँदै म्याग्दीको भुरुङ तातोपानी आइपुग्ने बित्तिकै पर्यटकहरु तातोपानीको कुण्डमा नुहाउन थाल्दछन् । कतिपय पर्यटकहरु त थकाइ मेटाउन घण्टौँसम्म कुण्डमा डुबुल्की मारिरहन्छ । तातोपानी कुण्डमा डुबेर स्नान गरेमा बाथ, ग्यास्ट्रिक, गानोगोला, चर्मरोगदेखि लिएर प्यारालाइसिस जस्ता रोग निको हुने जनविश्वासका कारणले पनि पर्यटकहरु तातोपानीमा नुहाउँछन् ।
तातोपानी कुण्डमा तीन वर्षसम्म वर्षको दुईपटक १०÷१२ दिनसम्म डुबेपछि लामो समयसम्म निको नभएका रोग पनि यहाँ डुबेपछि निको भएको बिरामीले बताएका छन् । उपचार गर्नकै लागि स्वदेश तथा विदेशका महँगा अस्पतालमा पुगेर उपचार गर्दासमेत निको नभएको रोग तातोपानी कुण्डमा डुबेर निको भएको तातोपानीमा डुबेर रोग निको भएका विरामीहरुको भनाइ रहेको छ ।
म्याग्दीको सदरमुकाम बेनीबजारदेखि नौ किलोमिटर पश्चिममा पर्ने तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा देश–विदेशमा समेत चर्चित छ । यहाँ एक हप्तादेखि १२ दिनसम्म डुबेपछि विभिन्न चर्मरोग, चोटपटक, ग्याष्ट्रिक, गानोगोलादेखि लिएर प्यारालाइसिससम्म निको भएको बिरामीले बताएका छन् ।