© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौं।भिजिट भिसामा सेटिङ मिलाए बापत विमानस्थल अध्यागमनका कर्मचारीलाई घुस बुझाउने होटलका सञ्चालक फरार भएका छन्।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले पछिल्लो समय अवैध तरिकाले ‘भिजिट भिसा’मा विदेश पठाउनेहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । गएको असोज १९ देखि कार्यालयले प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्द पन्थी नेतृत्वको अनुसन्धान टोली नै बनाएर अपरेसन थालेको हो ।
काठमाडौंको सिनामंगलस्थित होटल बाल्टिक इनका सञ्चालक ४२ वर्षीय आशिष भन्ने केदारबहादुर खड्का फरार भएका हुन्। उनीविरुद्ध पनि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो। होटल सञ्चालक खड्काले भिजिट भिसामा विदेश जाने नेपालीसँग अध्यागमन सेटिङ बिलाएबापतको रकम बिचौलियासँग लिने र अध्यागमनका कर्मचारीलाई दिने गरेको प्रहरीको दाबी छ।
बिचौलियामार्फत् नक्कली कागजातका आधारमा ‘भिजिट भिसा’मा विदेश जान खोज्ने एक हजार पाँच सय १३ जनालाई रोकेको छ । पक्राउ पर्नेमा म्यानपावर व्यवसायी, ट्राभलका सञ्चालक, प्रहरीदेखि विमानस्थलस्थित अध्यागमन विमागका कर्मचारीहरू र एयरलाइन्सका कर्मचारीसमेत छन् ।
भिजिट भिसामा ‘सेटिङ’ मिलाएर विदेश पठाएको आरोपमा अध्यागमनका कर्मचारी पक्राउ परेका थिए । अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति विमानस्थलस्थित अध्यागमनका अधिकृत नरबिर खड्कालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नवलपारासीको कावासोती घर भई हाल चितवनको भरतपुर उपमहानगरपालिका ८ खैरहनी बस्ने ४४ वर्षीया गीता शाह, काठमाडौको तीनकुनेका ३७ वर्षीया अरुण दाहाल, सिरहाको मिर्चैयाका २७ वर्षीय सरोजकुमार यादव, पश्चिम रुकुमको सानोभेरी-१० घर भई हाल जाजरकोटको भेरी नगरपालिका बस्ने अध्यागमन अधिकृत ३७ वर्षीय नरवीर खड्का र रामेछापको दोरम्बा गाउँपालिका-७ का ३१ वर्षीय पदम लामा छन्।
यस्तै काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ बस्ने ३९ वर्षीय मनोज तामाङ, स्याङ्जाको चापाकोट नगरपालिका १ पैदीमगरेका ३९ वर्षीय रामप्रसाद भण्डारी, गुल्मीको सत्यवती गाउँपालिका ७ घर भई काठमाडौंको टोखा बस्ने स्काइ टुर्स एण्ड ट्राभल्सका संचालक दिनेश ज्ञवाली पनि पक्राउ परेका छन्।
उता स्याङ्जाको वालिङ नगरपालिकाका रविन अर्याल र मोरङको पथरी शनिश्चरे घर भई हाल ललितपुरको इमाडोल बस्ने ४५ वर्षीय विनोद कार्की पनि पक्राउ परेका छन्। उनीहरुमाथि अनुसन्धान सकेर प्रहरीले आइतबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ।