© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री सुदन किरातीले देशको आर्थिक विकासको सम्भावनाको क्षेत्र पर्यटन भएकाले पर्यटन क्षेत्रको विकासका निम्ति पहिलो र आधारभूत शर्त नै सुरक्षा भएको बताएका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा आज ४५औँ पर्यटक प्रहरी दिवसका अवसरमा आयोजित समारोहमा उनले शान्ति, सुरक्षाको अभावमा समग्र पर्यटन क्षेत्रको विकासको अनुभूति गर्न नसकिने उल्लेख गरे ।
सो अवसरमा मन्त्री किरातीले पर्यटकको साथी पर्यटक प्रहरी भएको चर्चा गर्दै पर्यटकको सुरक्षाका साथसाथै देशको कानून अनुसार पर्यटकले गर्ने गतिविधिबारे सचेत गराउन पर्यटक प्रहरीले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए । पर्यटन क्षेत्रबाट रोजगारी सिर्जना गरी आर्थिक विकास गर्दै सुन्दर र समृद्ध समाज निर्माण गर्न सबै आवद्ध सरोकारवाला निकायहरू अग्रसर हुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई नगद तथा प्रशंसापत्र प्रदान गरे । सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले पर्यटक प्रहरीले विगत लामो समयदेखि देशका विभिन्न पर्यटकीय क्षेत्रहरूमा पर्यटकहरूको सेवासुविधा र गुनासो व्यवस्थापनको लागि गर्दै आएको कार्य सराहनीय रहेको चर्चा गर्दै आगामी दिनमा सेवा प्रवाहको स्तर अझ बढाउँदै लैजान यसमा आवद्ध प्रहरी कर्मचारीहरू कृतसंकल्पित रहनुपर्ने बताए ।
अतिथि देवोः भवःको मन्त्रलाई आत्मसाथ गर्दै उच्च व्यावसायिकता र निष्ठाका साथ आगामी दिनमा समेत नेपाल प्रहरीको मात्र नभई नेपालकै ईज्जत वृद्धि गर्ने लक्ष्यसहित आफ्नो कर्म निदृष्ट गर्न पर्यटक प्रहरीमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूमा उनले विशेष अनुरोध गरे ।
समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दीपक काफ्ले, होटल व्यवसायी सङ्घ नेपालका अध्यक्ष विनायक शाह, पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढालगायतले पर्यटक प्रहरीको भूमिकाबारे आफ्नो भनाइ राखेका थिए ।