© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
सुर्खेत। आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले विवाह र पर्यटन बिदा थप गरेको छ ।
प्रदेश सरकारले ल्याएको ‘कर्णाली प्रदेश निजामती सेवा नियमावली, २०८०’ मा राष्ट्रिय रूपमा दिँदै आएको हाजिरी र बिदा भइपरी आउने बिदा, पर्व बिदा, घर बिदा, बिरामी बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, असाधारण बिदा र बेतलबी बिदामा तीन बिदा थप गरेको हो ।
कर्णाली प्रदेश सरकारले प्रदेश सभाबाट असोज २२ गते कर्णाली प्रदेश निजामती सेवा ऐन, २०८० पारित गरेको थियो । ऐनको दफा १३८ ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकारले यही माघ १० गते ‘कर्णाली प्रदेश निजामती सेवा नियमावली, २०८०’ प्रदेश राजपत्रमा प्रकाशित गरेको छ ।
नियमावलीले कर्णालीका कर्मचारीलाई विवाह र पर्यटनका लागि सात/सात दिन बिदा दिने व्यवस्था गरेको हो । नियमावलीको परिच्छेद १४ मा भनिएको छ, कर्मचारीले विवाहमा सात दिन बिदा पाउने र विवाह बस्दाको पूरा तलब पाउने तर कार्यालयमा हाजिर भएको १५ दिनभित्र विवाह दर्ताको प्रमाणपत्र भने पेस गर्नुपर्ने छ ।
त्यस्तै प्रदेशको कुनै पनि कर्मचारीले देशका विभिन्न भू-भागको भ्रमण गर्न सात दिन बिदा पाउने छन् । पर्यटन बिदा स्वीकृत गर्ने अधिकारीले पर्यटकीय स्थलको भौगोलिक अवस्थितिका आधारमा अवधि तोकी भ्रमण आदेश स्वीकृत गर्नुपर्नेछ । पर्यटन बिदा लिएको कर्मचारीले पनि १५ दिनभित्र भ्रमणको विस्तृत विवरण र भ्रमणका क्रममा लिइएको तस्बिर तथा भिडियो समावेश गरेको प्रतिवेदन पेस गर्नुपर्ने नियमावलीमा उल्लेख गरिएको छ ।