पर्यटन खबर

लयमा फर्किँदै इलामको पर्यटन

१४ माघ २०८०, आईतवार ०२:२०

इलाम । बिगत ३ बर्ष देखि थालिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो । कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन बिस्तारै रंग फार्दै छ ।

भौगोलिक बनोट, चिया, अम्लिसो, अदुवा, अलैँची, अकबरे खोर्सानी, ओलनजस्ता नगदे बालीले सुधारिएको जीवनशैली, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति र प्राकृतिक सुन्दरताको दृश्यावलोकनका लागि इलाम विश्वमा नै प्रख्यात छ ।

पछिल्लो समय इलाममा भित्रिने पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । जिल्लाका दर्जनौँ पर्यटकीयस्थल घुम्न जिल्ला बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख््या बढ्न थालेको छ । झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकल रोङको तथ्याङ्कअनुसार पछिल्लो समय इलाम घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।

चालु आर्थिक वर्ष २०८०/८१ छ महिनामा ८५ हजार तीन सय २६ जना पर्यटक इलाम भित्रिएका हुन् । गत साउन १ देखि पुस मसान्तसम्म ७४ हजार सात सय ७७ आन्तरिक र १० हजार पाँच सय ४९ जना विदेशी पर्यटक इलाम भित्रिएको पर्यटन सूचना केन्द्रका सूचना अधिकारी गगन घिमिरेले जानकारी दिए ।

प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता, अनुकूल हावापानी, जैविक विविधताको प्रचुरता र विभिन्न जनजातिहरूको मौलिक संस्कृतिको अवलोकन गर्न तेस्रो मुलुकबाट पर्यटकहरू बर्सेनी इलाम आउँछन् ।

सिंहलीला पर्वतशृङ्खला र महाभारत पर्वतशृङ्खला तथा त्यहाँबाट उत्पन्न नदी प्रणाली, ढपक्क चियाले ढाकेका डाँडाहरू, विश्वमै दुर्लभ एवं लोपोन्मुख जीव र वनस्पतिहरू, मिहिनेती किसानहरूले गरेको कृषि र पशुपालनले आन्तरिक र बाह्य आगन्तुकको मन लोभ्याउने गरेको छ ।