© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
नवलपरासी पूर्व। गैंडाकोटस्थित थुम्सीको एक होटलले सडेको खाना बेचेको भेटिएपछि कारबाहीमा गरिएको छ ।
नगरपालिकाको बजार अनुगमन टोलीले गैंडाकोट नगरपालिका-९ थुम्सीमा रहेको राप्ती मुनाल होटलले सडेको खाना बिक्री गरेको भेटिएपछि शुक्रबार ५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।
यहाँ महेन्द्रराजमार्ग हुँदै पूर्व-पश्चिम ओहोरदोर गर्ने बसका यात्रुले खान्छन् । नगरपालिकाका अधिकृत देवेन्द्र गौतमले सडेको खाना बिक्री गरेको प्रमाण भेटिएपछि पहिलोपटकका लागि नगद ५ हजार रुपैयाँ जरिवाना गरिएको बताए । होटलको भान्छा फोहर र खाद्य परिकार सुरक्षित नराखेको, सरसफाइमा चरम हेल्चेक्र्याइँ गरेको भेटिएपछि अनुगमन टोलीले कारबाही गरेको उनले सुनाए ।
मुनाल होटलले पकाएको चियामा टमाटर भेटिएको, सरसफाइमा ध्यान नदिएको, खानेकुरा राख्दा समेत खाद्य गुणस्तरमा ध्यान नदिइएको तथा उचित व्यवस्थापन नगरेको पाइएपछि कारबाही गरिएको उनको भनाइ थियो ।
गैँडाकोटको सडक किनारमा सञ्चालित होटलले अस्वस्थ्यकर खाना खुवाएको जन गुनासो आएपछि गैँडाकोटको कांग्रेसचोक, थुम्सीलगायत क्षेत्रका विभिन्न होटल तथा पसलमा आज अनुगमन गरिएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौलीको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका अखाद्य सामग्री नष्ट गरिएको खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्यले जानकारी दिए । केही स्थानमा भेटिएका शंकास्पद खाद्य पदार्थको गुणस्तर परीक्षण गर्न नमूना संकलन गरिएको भन्दै उनले अनुगमनका क्रममा स्थानीय पसललाई मूल्यसुची राख्न, म्याद गुज्रिएका सामग्री बिक्री नगर्न सुझाव दिइएको बताए ।
गैँडाकोटमा सञ्चालित अधिकांश किराना पसल तथा होटलहरुमा चिसो पेय पदार्थको म्याद गुज्रिएको अवस्थाका फेला परेका आचार्यले जानकारी दिए । म्याद गुज्रिएका पेय पदार्थ भेटिएको पसलका सञ्चालकले आफूहरुलाई डिलरले झुक्याएर त्यस्ता सामग्री छाड्ने गरेको गुनासो गरेका थिए ।
मूल्यसूची तथा पसलमा साइन बोर्ड नराखेको, व्यवसाय दर्ता र नवीकरण नभएको, किराना पसलमा खाद्य सामग्री र विषादी एकै स्थानमा राखिएको, सरसरफाइमा कमजोरी भेटिएको पाइएकाले व्यवसायीलाई सचेत गराइएको आचार्यले जानकारी दिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौलीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कावासोती, गैँडाकोट नगरपालिका उपभोक्ता हित संरक्षण समिति, इलाका प्रहरी कार्यालय गैँडाकोट र गैँडाकोटको नगर प्रहरीले संयुक्तरुपमा बजार अनुगमन गरेका हुन् ।
नगरपालिका अन्तर्गतको खाद्य प्रविधि कार्यालय कर्मचारीले अनुगमन गरेका हुन् । गैंडाकोटको थुम्सीदेखि पूर्व नारायणी किनारसम्म सय भन्दा बढी खाना खुवाउने होटल छन् । यात्रुवाहक गाडीका यात्रुले यहाँ खाना खाने चलन छ । गत दुई वर्षयता जिल्ला प्रशासन कार्यालयले यहाँका होटल, किराना पसल, खाद्य पसल र औषधि पसलमा छडके अनुगमन गर्दै आएको छ ।