रेस्टुरेन्ट खबर

होटलमा गरेको लगानी डुब्ने खतरामुक्त अवस्थामा आएको छः अर्थमन्त्री महत

१२ माघ २०८०, शुक्रबार ०८:०३

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महत अब बैंकहरूले धितोबेस कर्जाभन्दा पनि प्रोडक्टबेस कर्जालाई प्राथमिकता दिन आग्रह गरेका छन्।

काठमाडौंमा बुधवार राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा उनले यस्तो बताए। उनले नेपालमा अधिकांश कर्जा धितोबेस भएकाले कर्जा भन्दा धितो बढी लिएर कर्जा दिने प्रचलन रहेको बताए। उनले बैंकहरू पनि कर्जा भन्दा बढी धितो लिएर कर्जा लगानी गरेकाले ढुक्क बस्ने गरेको बताए।

अब बैंकहरूले पनि धितोबेस कर्जाभन्दा पनि प्रोडक्ट अर्थात् आयोजनाबेस भएर कर्जा प्रवाह गर्न आवश्यक रहेको औंल्याए। अर्थमन्त्री डा.महतले बैंकहरूले प्रोडक्टबेस कर्जा दिँदा कर्जा दिन लायक परियोजना भए/नभएको अध्ययन मूल्याङ्कन गर्नुपर्ने बताए।

मन्त्री महतले पर्यटन आगमन वृद्धि भएसँगै होटलहरु वृद्धि भइरहेको भन्दै बैंकहरुले होटलमा गरेको लगानी डुब्ने खतरामुक्त अवस्थामा आएको बताए ।

उनले शेयर बजार र घरजग्गा कारोबार सकारात्मक भइरको बताए । उनले राष्ट्र बैंकसँग सहकार्य गरे केही सहज बनाउन जरुरी भएकाले सहज बनाएको बताए । उनले सकारात्मकतर्फ अर्थतन्त्र जाने तथ्याङ्कहरु भएकाले अब लगानीहरु पनि बढ्ने अपेक्षा रहेको बताए ।