© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
बागलुङ। सधैं पर्यटकको चहलपहल रहने प्रमुख र आकर्षक पर्यटकीय क्षेत्रको रुपमा रहेको बागलुङकाे ढोरपाटन चिसो सुरु भए देखि सुनसान बनेको छ।
अहिले ढोरपाटनका होटल, रेष्टुराँसँगै सम्पूर्ण पर्यटकीय गतिविधि सुस्त भएको छ । व्यापारीहरु ग्राहक तथा पर्यटककाे पर्खाइमा देखिन्छन् ।पर्यटक आउन छाडेपछि होटल व्यवसाय पनि ठप्प भएको छ।
चिसो नसकिएसम्म पर्यटक भित्र्याउन नसकिनेसमेत व्यवसायीहरु बताउँछन्। नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा फागुन लागेपछि मात्रै पर्यटकको चहलपहल बढ्ने गरेको छन्।
चिसोका कारण अहिले फाटफुट पर्यटक आए पनि बास नबस्ने गरेको व्यवसायीहरु बताउँछन् । कतिपय होटल व्यवसायी पनि चिसोका कारण बेँसी झरेको छन्। विगतको तुलनामा यस वर्ष हिँउ पनि नपर्दा पर्यटकको सङ्ख्या न्यून रहेको छ।
होटल व्यवसायी यत्तिकै बसेका छन्। पुस पहिलो हप्तादेखि आउन छोडेका हुन्, केही उत्तरगङ्गा बराह मन्दिरसम्म आएर दर्शन गर्ने गरेका छन्। तर बास बस्ने गरेर आएका छैनन्, हिँउ परेपछि धेरै आउने थिए। अहिले हिँउ पनि परेन । अब फागुन लागेपछि एक जना व्यवसायीले बताए।
त्यस बेलासम्म चिसो घट्छ । यो याममा हिँउ परेको भए धेरै पर्यटक भित्र्याउन सकिने थियो । लामो समयदेखि वर्षा नभएको हुँदा चिसो अत्यधिक रहेको छ। पछिल्लो समय बागलुङमा विदेशी पर्यटकको समेत आकर्षण बढ्न थालेको छ । मुस्ताङ भ्रमणका लागि जाने आन्तरिक तथा भारतीय पर्यटक बागलुङ जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकनका लागिसमेत आउन थालेका छन् ।
बागलुङलाई साहसिक तथा धार्मिक पर्यटकको गन्तव्यका रुपमा विकास गरिएको छ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष, सवा लाख शालिग्राम सङ्ग्रह गरिएको कुँडुले मन्दिर, पञ्चकोट र टेउवामा रहेको खुला मूर्तिकला सङ्ग्रहालयले पछिल्लो समय पर्यटक तान्न थालेका छन् ।