ट्रेन्डिङ

यहाँ पुग्दा स्वर्ग पुगेको अनुभूति हुन्छ

११ माघ २०८०, बिहीबार १५:०७

सुर्खेत । रारा ताल कर्णाली प्रदेशको मुगुमा पर्छ । सौन्दर्य र पर्यटकी हिसाबले उतिकै भरिपूर्ण रहेको छ । तर पछिल्लो समय रारा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ।

राराको सौन्दर्यले पर्यटकलाई लोभ्याउँछ । यहाँ कल कल सुसाउदै  बगेको खोला, हरियाली वनजंगल, सुसाउदै गरेको सल्लाहहरु, थरी थरीका चराहरु गुनगुनाउँदै गरेको स्वर, कतै उकाली कतै ओराली गर्दै, डाँडाकाडाँ हिउँले भरिएको मनै लोभ्याउँने सुन्दरताको खानीलाई हामीले लेखेर वर्णन गर्न सक्दैनौ । एक पटक रारा पुग्नु भनेको स्वर्ग पुगेको अनुभव गर्नु हो ।

राजा महेन्द्रले ‘अप्सरा’ नाम दिएपछि राराको झन् महत्त्व बढ्दै गएको पुरानो किम्बदन्ती छ । रारामा आगन्तुकलाई स्वागत गर्ने जो कोहीले राराको बारेमा वर्णन गर्दा सबैभन्दा पहिले सुनाउने किस्सा हो यो ।

हरियो जङ्गलले घेरिएको र त्यही हरियालीलाई आफ्नो स्पष्ट पानीमा प्रतिबिम्बित गर्दै रारा ताल पश्चिम नेपालको अप्सरा बनेर बसेको छ। रारा तालले मौसम अनुसार दिनमै चार पाँच चोटि रङ्ग फेर्छ। त्यही रङ्ग फेर्ने रारा तालको पानीको रङ्गमा मिसिन आइपुग्छ, सिन्जे र कान्जिरोवा हिमालको छायाँ । रारा वरपर आन्तरिक पर्यटक हिउँमा रमाउने फोटो खिच्ने हिउँसँग लुकामारी गर्ने गरेका छन् ।

दिनभरिमा आफ्नो रुप फेरिरहने रारा ताल हेर्न स्वदेशी तथा विदेशी पर्यटकको ओइरो लाग्छ । राराको छेउमा फैलिएको कोणधारी वन, घाँसेमैदान, फराकिला ठूला चौर, नीलो आकाशमा लुकामारी खेलेका सेता बादलका चोइटा, सिरसिर बतास, हावाको झोक्काले राराको पानी सल्बलाएको दृश्य, उत्तरतर्फ लस्करै देखिने चाँदीझैँ चम्केका हिमशृंखला बादलको घुम्टोमुनि मनोरम दृश्यले यसरी मोहित पार्छ कि घण्टौँ बितिजान्छ तर आँखाहरु अझै तिनैलाई हेर्न लालायित हुन्छन् । यो आनन्द लुट्न एकपटक रारा जाने कि ?