पर्यटन खबर

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ किचकबध

११ माघ २०८०, बिहीबार ०८:२८

झापा। झापाको किचकबध महाभारतकालीन कथासँग जोडिएको तर, प्रचारका दृष्टिले ओझेलमा परेको नेपालको महत्वपूर्ण पर्यटकीय स्थल हो ।

तर पछिल्लो समय किचकबध आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको छ। धार्मिक तथा पर्यटकीयस्थल पनि किचकबध निकै प्रसिद्ध मानिन्छ।

भद्रपुर नगरपालिका–२ मा १० बिघा जमिनमा फैलिएको यस स्थानमा पुग्नका लागि चन्द्रगढी विमानस्थलबाट दक्षिण १० किलोमिटर रहेको छ। प्राकृतिक दृश्यावलोकनका लागि सुन्दर मेची र देउनिया नदीको दोभानमा अवस्थित किचकबधस्थलमा हाल भीमसेनले किचकलाई बध गरिरहेका दुई मूर्ति छन्।

विसं २०३८ मा निर्मित पुरानो मूर्ति भत्किन थालेपछि उत्तरी भागमा नयाँ मूर्ति बनाइएको किचकबध धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले बताए।

किचकबध पुग्नका लागि भद्रपुरबाट सगरमाथा चोकसम्म कालोपत्र सडक छ भने सो स्थानबाट पूर्व एक किलोमिटर ग्राभेल सडक छ । नगरपालिकाले हाल सो स्थानमा पुग्न कालोपत्रसहितको ‘रिङरोड’  निर्माण भइरहेको  छ।

विष्णुपादुका, सतीदेवी र शिवको मन्दिर पनि यहाँ छ । त्यसका कारण नेपालगञ्ज, जनकपुर, धनुषा, विराटनगर र भारतको विहारबाट यहाँ अवलोकन गर्न तथा वनभोज खानका लागि आउने गरेको उनले बताए।

“यहाँ शनिबार र बिदाका दिन वनभोजका लागि स्थान पाउन मुस्किल हुने गरेको छ”, अध्यक्ष थेबेले भने, “विहारसँग सीमा जोडिएको हुँदा दैनिक उतैदेखि पनि घुम्न र वनभोजका लागि पर्यटक आउँछन्।”

बिजुली, खानेपानी र शौचालयको राम्रो व्यवस्था तथा सुरक्षाको दृष्टिकोणले पनि सुरक्षित भएका कारण किचकबधमा पर्यटकको चाप बढेको उनको भनाइ छ। त्यहाँ प्रहरीको अस्थायी विट र सेनाको ब्यारेक छ । वनभोजका लागि रु पाँच सय र चिल्ड्रेन पार्क प्रवेशमा रु ३० मात्र शुल्क लिइने गरेको उनले बताए।

महाभारतकालीन किंवदन्ती अनुसार विराट राजाका सालो किचक सेनापति थिए । पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूप माथि कुदृष्टि राख्ने सेनापति किचकलाई भीमसेनले मुड्क्याएर मारेको किंवदन्ती छ ।

सोही कथा वस्तुलाई आधार मानेर यस ठाउँको नाम किचकबध राखिएको र पछि किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको नामकरण दिइयो ।