© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौं। अंग्रेजी नयाँ वर्ष २०२४ सँगै राजधानी काठमाडौंमा तीन ठुला होटल तामझामका साथ सञ्चालनमा आउने भएका छन्।
कोभिडको मार र त्यसपछिको आर्थिक मन्दीका कारण निर्माणमा ढिलाइ भइरहेका यी तीन होटल नयाँ वर्षको शुभारम्भसँगै सञ्चालनमा आउन लागेका हुन् ।
तीनमध्ये बूढानीलकण्ठमा मात्रै एकैसाथ दुई वटा पाँचतारे होटल सञ्चालनमा आउने तयारीमा छन् । बूढानीलकण्ठ हेरिटेज प्रालिद्वारा सञ्चालित पाँचतारे होटल लेमन ट्री प्रिमियर सञ्चालनको अन्तिम तयारीमा रहेको छ।
लेमन ट्री प्रिमियर
लेमन ट्री प्रिमियर भारतको सबैभन्दा ठूलो चेन होटल भएको हस्पिटालिटी कम्पनी हो। यो भारतको प्रशिद्ध ब्रान्डसमेत हो। सोही ब्रान्डले व्यवस्थापन सम्हालेको लेमन ट्री प्रिमियर काठमाडौं सञ्चालनका लागि सञ्चालकले पूजापाठ समेत गरिसकेका छन्।
२०२४ जनवरीभित्रै सफ्ट लन्च गर्ने योजनाका साथ अगाडि बढेको सो होटलमा १ अर्ब ५० करोड बढी लगानी छ।
९ तले होटलमा हेल्थ क्लब, स्वीमिङ पुल, रुफ टप गार्डेन रहेको छ। साढे १२ रोपनी क्षेत्रफलमा फैलिएको सो होटलमा १०२ वटा कोठा छन्।दुई वटा प्रेसिडेन्सियल, तीन वटा डिलक्स र बाँकी ९७ वटा इकोनोमी कोठा रहेका छन्।
फरेस्ट इन
प्रतिनिधिसभाका सदस्यसमेत रहेका व्यवसायी दीपक खड्का मुख्य लगानीकर्ता रहेको फरेस्ट इन होटल जनवरीभित्रै सफ्ट लन्च गर्ने तयारीमा छ। पाँचतारे होटल फरेस्ट इन बूढानीलकण्ठमै रहेको छ।
फरेस्ट इनले अन्तर्राष्ट्रिय होटल ब्रान्डका लागि इन्टरकन्टिनेन्टल होटल्स ग्रुप आइएचजीसँग लाइसेन्स सम्झौता गरेको छ।
अमेरिकी होटल चेन आइएचजीको मिडिल स्केल ब्रान्ड होलिडे इनका नाममा चल्नेछ। १ लाख ४२ हजार ७८३ स्क्वायर फिट क्षेत्रफलमा फैलिएको होटलमा ११५ वटा कोठा छन्।
तीमध्ये १०३ मा डिलक्स, ६ वटा स्वीट र ६ वटा किङसाइजका कोठा हुनेछन्। होटल बनाउन २ अर्ब ५९ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान छ। यसमध्ये १ अर्ब ८६ करोड ८० लाख रुपैयाँ ऋण र बाँकी ७२ करोड ७० लाख स्वपुँजी ९इक्विटी० बाट जुटाइएको छ।
होटलमा फुड एन्ड बेभरेज सेवाका साथै, क्यासिनो, स्वीमिङ पुल, बैंकेट हल, रेस्टुरेन्ट, कन्सफेरेन्स हल र स्पालगायत सुविधा छन्।
वर्णवास
पर्यटन व्यवसायी तथा कांग्रेस सांसद राजेन्द्र बजगाईंले राजधानीको बालुवाटारमा निर्माण गरिरहेको चारतारे स्तरको ‘वर्णवास म्युजियम होटल पनि जनवरीभित्रै सञ्चालनमा आउने भएको छ।
गैरीधारा–बालुवाटारमा निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा रहेको चारतारे स्तरको होटलमा ४८ कोठा रहेको छ।
१ अर्ब १६ करोड लगानी रहेको होटलमा काठमाडौं उपत्यका, त्यसमा पनि नेवारी समुदायको संस्कृति झल्किने खालका चित्र राखिएको छ। करिब २ रोपनी क्षेत्रफलमा बनेको साढे ९ तले लक्जरी बुटिक होटलमा १८ प्राइभेट ज्याकुजी रहेको छ।