होटल खबर

व्यवसायीले भेटे अर्थमन्त्रीलाई, होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गिकरण माग

१५ पुष २०८०, आईतवार १३:००

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ अन्र्तगतको पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गिकरण माग गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटी होटल व्यवसायीहरुले उद्योग सरहको सेवा सुविधा दिन माग गरेको हो ।

महासंघका उपाध्यक्ष हेमराज ढकाल र पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु वस्नेत अजितको नेतृत्वमा अर्थमन्त्री महतलाई भेट्न गएको व्यवसायीकोे प्रतिनिधिमण्डलले होटल व्यवसायले अर्थतन्त्र र गन्तव्य विकासमा विशेष योगदान दिनुका साथै होटल क्षेत्र देशको गरिमा समेत भएकाले यस व्यवसायलाई मुख्य प्राथमिकतामा राख्न आग्रह गरेको हो ।

“औद्योगिक व्यवसाय ऐन २०७६“ मा पर्यटनमा मात्र वर्गीकरण गरिएको भन्दै अबका दिनमा राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गराउन उनीको विशेष आग्रह छ।

यस्तै महासंघले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा विदेशी ब्राण्डहरुले रोयल्टी वापत कूल बिक्रीको ५ प्रतिशत भन्दा बढी रोयल्टी शुल्क लैजान नपाउने व्यवस्था भएको हुँदा सो सम्बन्धमा समेत सहजीकरण गरिदिन माग गरेको छ।