© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
पोखरा । पर्यटकलाई थप आकर्षण दिन पोखरामा क्यासिनो सञ्चालनमा आएको छ । चारतारे होटल माउन्ट कैलाश रिसोर्टले क्यासिनो सञ्चालनमा ल्याएको हो । माउन्ट कैलाशसहित पोखरामा तीनवटा होटलमा क्यासिनो सञ्चालनमा हुने भएको छ । पोखरामा पाँचतारे होटल फूलबारी रिसोर्ट र होटल ग्रान्डमा सञ्चालनमा थिए । विगत केही वर्षदेखि क्यासिनो सञ्चालन हुन नसकेको अवस्थामा पोखरामा माउन्ट कैलाश रिसोर्टबाट क्यासिनो सञ्चालनमा आएको हो ।
रिसोर्टमा क्यासिनो सञ्चालनका लागि ताज इन्टरटेनमेन्ट प्रालिले उद्योग विभागमा दर्ता गरी पर्यटन मन्त्रालयबाट अनुमति प्राप्त भएसँगै उक्त क्यासिनो हाल सफ्ट ओपनिङका रूपमा सञ्चालनमा गरिएको छ । माउन्ट कैलाशसहित पोखरामा थप दुईवटा होटलले समेत क्यासिनो सञ्चालनका लागि उद्योग विभागमा अनुमति लिएका छन् ।
पोखरामा मित्रराष्ट्र भारत र चीनका पर्यटकलाई लक्षित गर्दै उक्त क्यासिनो सञ्चालनमा गर्न लागिएको सञ्चालकहरूले बताएका छन् । माउन्ट कैलाशमा हाल ८० वटा रुम रहेका छन् भने रिसोर्ट २००९ सालदेखि सञ्चालनमा आएको हो ।
उक्त क्यासिनो सञ्चालनका लागि २० करोडभन्दा बढी लगानी भएको प्रालिले बताएको छ । नेपाली लगानी रहने क्यासिनोमा २ सयभन्दा बढीले रोजगार प्राप्त गर्नेछन् भने उक्त क्यासिनोमा नेपालीलाई खेल्न प्रतिबन्ध गरिएको छ । हालका चारतारे होटलका रूपमा रहेको माउन्ट कैलाशमा मिनी क्यासिनोका रूपमा सञ्चालनमा आएको हो ।