© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री सुदन किरातीले छानबिन समिति बनाए चिनियाँ जहाज लिलामीको टेण्डर फिर्ता लिने बताएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री किरातीले संसदीय समिति बनाएर चिनियाँ जहाजबारे छानबिन गर्न समिति बनाए जहाज लिलामीको टेण्डर फिर्ता लिने बताएका हुन् । नेपाल एयरलाइन्सले आज मात्रै ५ वटा चिनियाँ जहाज बेच्न टेण्डर आह्वान गरेको थियो ।
सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री किरातीले दोषीलाई कारबाही गर्ने गरी छानबिन समिति बनाए लिलामी फिर्ता गर्ने प्रतिबद्धता जनाए । वर्षमा २० करोडभन्दा बढी घाटा बेहोरेर चिनियाँ जहाज राखिरहेको र अब पनि घाटा बेहोरेर जहाज राखिरहन नसक्ने उनले बताए ।
मन्त्री किरातीले देशका लागि काम गर्न खोज्दा नपाएको गुनासो गरे । उनले केही नयाँ काम गर्न लाग्दा अख्तियारदेखि अदालतसम्म धाउनुपर्ने अवस्था रहेको बताए । कामका लागि अघि बढ्दा बढ्दै जुत्ता फाटिसक्ने भन्दै काम गर्ने वातावरण नभएको मन्त्री किरातीको टिप्पणी थियो ।
मन्त्री किरातीले आफूलाई परिणाम दिने गरी काम गर्न मन लागेको भए पनि काम गर्न नपाएको बताए ।