होटल खबर

तुलसीपुरको छिल्लीकोटमा घरैपिच्छे घरबास होमस्टे

५ पुष २०८०, बिहीबार १२:५९

दाङ । दाङको पर्यटकीय क्षेत्र तुलसीपुरमा छिल्लीकोटमा घरैपिच्छे घरबास होमस्टे निर्माण गरिएको छ । उपमहानगरपालिका १९ मा अहिलेसम्म १० होमस्टे सञ्चालनमा आएका आएका छन् ।

२०७६ देखि त्यहाँका स्थानीयले होमस्टे सञ्चालनमा ल्याएका थिए । पर्यटकीय, धार्मिक तथा ऐतिहासिक महत्व अवलोकनका लागि यहाँ पर्यटक आउने गरेका छन् । ती पर्यटकलाई होमस्टेको सेवा दिने गरेको स्थानीय जीवराज रेउले र प्रविर पुनले जानकारी दिए । होमस्टे स्थानीयका लागि आम्दानीको लागि राम्रो स्रोत पनि बनेको छ ।

होमस्टेमा जैविक खाना प्रदान गर्ने गरिएको रेउलेको भनाइ छ । स्थानीय उत्पादन भएको रोटी, ढिँडो, सिस्नोको तरकारी, लोकल कुखुरा, दही, दूध, स्थानीयस्तरमा उत्पादन गरेको रक्सी, जाँड खुवाउने गरेको उनले बताए । सबै जैविक उत्पादन रहेको र सोहीअनुसार पाहुनालाई खुवाउने गरिएको छ ।

स्थानीय सादा खानालाई १२०, मासु खानालाई ३००, एक जनामात्रै सुतेको १०० लिने गरिएको छ । यो उपमहानगरपालिकाले तोकेको दर रहेको छ । होमस्टे उपमहानगरपालिकामा दर्ता भएर सञ्चालनमा ल्याइएको हो ।

होमस्टे प्रोत्साहनका लागि उपमहानगरपालिकाले विभिन्न बाजागाजा प्रदान गरेको छ । उपमहानगरपालिकाले बाँसुरी, खैजडी, मादल, सारङ्गी, डेग, मगर ड्रेस प्रदान गरेको छ । अहिले विराटनगर, पाल्पा, नवलपरासी, कैलाली, नेपालगञ्जमात्रै नभई अमेरिकाबाट समेत पर्यटक आएर होम स्टे आनन्द लिने गरेका छन् ।

एउटा होमस्टेमा आठजनालाई राख्न सकिन्छ । होमस्टेमा बस्दा सुरक्षाको ग्यारेन्टीसमेत आफूहरुले गर्ने गरेको पुनले बताए । अहिले होमस्टेमा प्रायः शुक्रबार र शनिबार धेरै पर्यटक आउने गरेको सञ्चालक बताउँछन् । एकपटक आइसकेका व्यक्ति पुनः होमस्टेमा आउने गरेको स्थानीयको अनुभव छ ।

पर्यटकीय हिसाबले जिल्लाकै उत्तम ठाउँ हो छिल्लीकोट । त्यहाँ विश्वकै दुर्लभ वनस्पति मल्लागिरि पाइन्छ । त्यहाँबाट रुकुमपूर्वको सिस्ने, रोल्पाको जलजला तथा धवलागिरि हिमालको अवलोकन गर्न सकिन्छ । त्यस्तै रुकुम, रोल्पा, सल्यान तथा दाङको भू(भागको पनि अवलोकन गर्न सकिने पुनले बताए । सडक सञ्जालका हिसाबले पनि छिल्लीकोट रोल्पाको स्वर्गद्वारीसँग जोडिएको छ ।