पर्यटन खबर

पोखरेली होटल व्यवसायीले जाउँ है पोखरा अभियान  भैरहवाबाट

३ पुष २०८०, मंगलवार ०९:३५

भैरहवा । पश्चिम नेपालका आन्तरिक पर्यटकलाई पर्यटकीय सहर पोखरा एवं गण्डकी प्रदेश भ्रमणका लागि निम्तो दिन पोखरेली होटल व्यवसायीले जाउँ है पोखरा अभियान  भैरहवाबाट सुरु गरेका छन् । होटल संघ पोखरा नेपालले दुई दशक अघिबाट पूर्व मेचीदेखी पश्चिम महाकालीसम्मका आन्तरिक पर्यटकलाई पोखरा एवं वरपरका पर्यटकीय क्षेत्र भ्रमण गर्न जाउँ है पोखरा अभियान सुरु गर्दै आएको छ ।

संघ र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा यसपटक पश्चिम नेपाललाई लक्षित  भैरहवाबाट सुरु भएको अभियान नेपालगन्ज, धनगढी र महेन्द्रनगरसम्म पुगेर त्यहाँ रहेका होटल संघ साथै पर्यटन सम्बद्ध संघसस्थामार्फत आन्तरिक पर्यटकलाई पोखरा एवं गण्डकी प्रदेशको विभिन्न पर्यटकीयस्थल भ्रमण गर्न निमन्त्रणा दिइने होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

आन्तरिक पर्यटक नै दिगो पर्यटनको माध्यम रहेकाले आन्तरिक पर्यटकलाई निमन्त्रणा अभियान विगतमा सुरु भएको र भैरहवामा यसअघि पनि २०६८, ०७४ र ०७७ र अहिले २०८० मा जाउँ है पोखरा कार्यक्रम लिएर आएको अध्यक्ष सुवेदीले बताए ।

 

‘हामी आन्तरिक पर्यटकले धानिएका छौं, विस्तारै लयमा फर्कने क्रममा छाैं, यस्तै रह्यो भने आरोला लागेको हाम्रो पोखरा क्षेत्रको पर्यटन व्यवसाय अबको दुई वर्षभित्र लयमा फर्कन्छ,’ सुवेदीले भने, ‘अहिले हाम्रोमा ३५ प्रतिशतभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन्, त्यसैले विस्थापित छैनौ र जाउँ है पोखरा अभियानले राम्रो प्रभाव पारेको छ ।’