पर्यटन खबर

होटल तथा गेस्ट हाउस दर्ता सहज बनाउन माग

२९ श्रावण २०८१, बुधबार ०६:५८

काठमाडौं। होटल तथा गेस्ट हाउस व्यवसायीले व्यवसाय दर्ता प्रक्रियालाई सहज बनाइदिन सरकारसँग माग गरेका छन् ।

शनिबार एकता होटल तथा गेस्ट हाउस व्यवसायी संघको १२औं साधारणसभामा उनीहरूले यस्तो माग गरेका हुन् । अनुगमनका नाममा होटल तथा गेस्ट हाउस व्यवसायीमाथि अनावश्यक दुःख दिंदा व्यवसायीको आत्मसम्मानमा समेत ठेस पुगेको उनीहरूको भनाइ छ ।

साधारणसभामा संघका अध्यक्ष सरोज आलेले आर्थिक मन्दीको असरले आफूहरूको व्यवसाय चुनौतीपूर्ण बनेको बताए । ‘देशको पर्यटन प्रवर्द्धनमा हामीले महत्त्वपूर्ण योगदान पुर्‍याइरहेका छौं । तर, दर्ता प्रक्रिया झन्झटिलो हुँदा व्यवसायीले अनावश्यक दुस्ख झेल्न बाध्य छन् । स्थानीय तहदेखि केन्द्र सरकारका निकायसम्म दर्ता गर्नुपर्ने झन्झट छ,’ उनले भने ।

अनुगमनका नाममा व्यवसायीलाई अनावश्यक दु:ख दिने काम भइरहेको भन्दै उनले व्यवसायीले सम्मानपूर्वक एवम् व्यवस्थित ढंगले व्यवसाय गर्ने वातावरण तीनै तहका सरकारले बनाउनुपर्ने बताए ।