पर्यटन खबर

नेपालमै पहिलो खुलेको ‘हिल्टन काठमाडौं’ को सेवा शुभारम्भ, यस्ता छन् विशेषता

१९ श्रावण २०८१, आईतवार १६:००

काठमाडौं । गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच तारे होटल हिल्टन काठमाडौं उद्घाटन गरे । हस्पिटालिटी उद्योगमा प्रवेश गरेको शंकर ग्रुपले सञ्चालनमा ल्याएको हिल्टनमा १७२ कोठा छन् ।

नवनिर्मित होटेलको हालै प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेललगायतको उपस्थितिमा औपचारिक शुभारम्भ गरिएको हो । यो होटेलमा नेपालकै प्रतिष्ठित र प्रमुख व्यापारिक घराना शंकर ग्रुपको लगानी छ । उक्त होटेल भारतीय उपमहाद्वीपमा दरिलो विकास र विस्तारमा उल्लेखनीय कोसेढुंगा भएको बताइएको छ ।

यो होटल निर्माण गर्न सन् २०१४ मै सम्झौता भएर नक्सा तयार भएको थियो । तर, २०१६ बाट निर्माण थालिएको थियो । सुरुमा ७ अर्ब २७ करोड रुपैयाँ लगानी योजना बनाइ पनि कोभिड–१९ का कारण निर्माण प्रभावित हुँदा समय र लागत दुवै बढेको शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवाल बताउँछन् । परियोजना लागत १ अर्ब १० करोड रुपैयाँले बढेर ८ अर्ब ३५ करोड पुगेको उनले बताए ।

हिल्टन संसारको सबैभन्दा ठूलो होटल चेनमध्ये पर्छ । उसले विभिन्न ब्रान्डमा लक्जरीदेखि बजेट होटलसम्म सञ्चालन गर्दै आएको छ । संसारभर ६ हजार २ सयभन्दा बढी होटल तथा रिसोर्ट रहेको यो ग्रुपको ‘हिल्टन’ सबैभन्दा चर्चित प्रिमियम ब्रान्ड हो ।

काठमाडौंको निर्माण शैलीमा डिजाइन गरिएको होटेलमा प्रेसिडेन्सियल सुइटसम्मका कोठाहरू रहेका छन् । साथै, कर्मचारीको पोसाक, प्रतीक्षालय र अन्य अतिथि कक्ष परम्परागत नेपाली ढाकाको कपडाले सजाइएका छन् ।

यो होटलमा एक रात बस्न २०० डलर (करिब २६ हजार ६ सय) देखि २ हजार डलर (२ लाख ६६ हजार रुपैयाँ) सम्म तिर्नुपर्छ । प्रेसिडेन्सियल सुइट रुममा बस्न २ हजार डलर तिर्नु पर्छ । होटलमा रुफटफ स्विमिङ पुल, स्पा, जीम लगायत कार्यक्रम गर्न सभाहलसमेत रहेको छ ।